



सिनेसुत्र, बिराटनगर- प्रसिद्ध भारतीय निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्धिकी हाल नेपालमा छन्। उनीहरू नेपाली सिनेमा ‘शाम्बाला’को प्रिमियरको लागि काठमाडौं आएका हुन् । अनुराग र नवाजुद्दिनलाइ नेपाली सिनेमाको कलाकार हरुले स्वागत गरेको तस्बिर सामाजिक संजाल मार्फत पोस्ट गरिरहेका छन् ।
अहिले नेपाली सिनेमाको चर्चित नायक दयाहाङ राईले नुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्धिकी संग खिचेको तस्बिर सामाजिक संजाल फेशबुकमा राख्दै उनले लेखेका छन् : मीठो भेटघाट सन्दर्भ चलचित्र “ शाम्भाला “ नेपाल प्रिमियर !


त्यस्तै निर्माता, निर्देशक र हाल राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का सांसद असिम शाहले पनि भेटघाटको तस्बिर सार्वजनिक गर्दै बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी र निर्देशक/निर्माता अनुराग कश्यपलाई नेपालमा स्वागत गरेका छन् । 

‘शाम्बाला’को कथा गर्भवती श्रीमतीले देवरको सहयोगमा श्रीमानको खोजीमा गरेको संघर्षमा आधारित छ। मीन भामद्वारा निर्देशित यो सिनेमा, बर्लिन र लोकार्नो जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरूमा सहभागी भई नेपाललाई गौरवान्वित गरिसकेको छ।
सिनेमाको मुख्य भूमिकामा थिन्ले ल्हामोले पेमाको चरित्रलाई उत्कृष्ट रूपमा निभाएकी छिन्। उनले लोकार्नो फिल्म महोत्सवमा ‘बोक्कालिनो डिओर’ अवार्ड जितेर दक्षिण एसियाली कलाकारको रूपमा यो अवार्ड जित्ने पहिलो व्यक्ति बन्ने गौरव प्राप्त गरेकी छिन्।
यो सिनेमा मीनबहादुर भाम र अविनाशविक्रम शाहले मिलेर लेखेका हुन्। डोल्पाको मनोरम दृश्यभूमिमा छायांकन गरिएको यस सिनेमामा थिन्ले ल्हामो, सोनम तोप्दन, तेन्जिङ डल्हाल, र कर्मा शाक्यको जीवन्त अभिनयले यसलाई विशेष बनाएको छ।