सिनेसुत्र, बिराटनगर- यहि कार्तिक २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर सार्वजनिक भएको छ। सुपरस्टारको उपाधि पाएका अभिनेता अनमोल केसी स्टारर सिनेमाको ‘अल्लारे ठिटो आयो है’ बोलको गीत निर्माण टिमले आइतबार युट्युबमार्फत वर्ल्ड प्रिमियर गरेको हो।
सार्वजनिक गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। पुरानो नेपाली समाजको मौलिक परिवेशलाई समेटेर दृश्यांकन गरिएको भिडियोमा अनमोल र प्रिन्सीको दोहोरी नोकझोकसहितको लोभलाग्दो प्रेमिल केमेस्ट्री देख्न सकिन्छ। निर्माण टिमले नजिकिँदो तिहार पर्व र त्यसको आकर्षक पक्ष देउसीभैलोलाई लक्षित गरेर गीत सार्वजनिक गरिएको बताएको छ।
गीतको अडियोतर्फ रुबै र प्रविण बेडुवालको स्वर छ भने संगीत निर्माण, मिक्सिङ र मास्टरिङ रूप महानताले गरेका छन्। गीतमा पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीको कर्णप्रिय धुन समेटिएको छ। भुवन केसीको निर्देशन र सनराइज पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको ‘बाटुलो जून’ ३० देखि ४० को दशकको नेपाली परिवेशमा आधारित प्रेमकथानक सिनेमा हो। यो सिनेमामार्फत आदर्श प्रेमलाई केन्द्रमा राख्दै तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माण टिमले बताएको छ।
‘बाटुलो जून’ केवल पुरानो समयको कथा भन्ने सिनेमा मात्र नभएर आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको निर्देशक केसीले बताउँदै आएका छन्। केसी तत्कालीन समयका लोकप्रिय अभिनेता हुन्। यो सिनेमामा निर्देशक केसी स्वयं महत्त्वपूर्ण भूमिकामा छन्। सिनेमाको लेखनमा सामीप्यराज तिमल्सेनासँग सरिन पोखरेलले सहकार्य गरेका छन्।
राजेश श्रेष्ठको छायांकन रहेको सिनेमामा कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्वसंगीत समावेश छ। प्रदीप श्रेष्ठ एसोसिएट निर्देशक रहेको ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन्। सह-निर्मातामा विवेक थापा छन्। यो सिनेमाबाट लामो समयपछि अभिनेत्री गरिमा पन्तले अभिनयमा पुनरागमन गरेकी छन्।