सिनेसुत्र, बिराटनगर- सिनेमा ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ । सिनेमाको प्रदर्शन रोकिएको भन्ने खबरहरू आइरहेका बेला निर्माण टिमले पूर्वनिर्धारित मितिमै सिनेमा प्रदर्शन हुने स्पष्ट पारेको हो । हाम्रो सिनेमा ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मिति अर्थात् कात्तिक २० गते (भोलि)देखि नै देशभरका सम्पूर्ण हलहरूमा यथावत् प्रदर्शन हुने जानकारी गराउन चाहन्छौँ, सिनेमा पाँच पाण्डवको निर्माण टिमले विज्ञप्ति जारी गर्दै भनेको छ ।
निर्माण टिमले सबै धर्मप्रति उच्च सम्मान रहेको र सिनेमा ‘पाँच पाण्डव’ले कुनै पनि धर्म, धार्मिक आस्था वा धार्मिक स्थलप्रति चोट पुर्याउने, अपमान गर्ने वा अवहेलना गर्ने उद्देश्य नराखेको पनि प्रस्ट पारेको छ । हामी सबै धर्म, संस्कृति र आस्थाको सम्मान गर्दछौँ, विज्ञप्तिमा भनिएको छ, हाम्रो सिनेमाप्रति यहाँहरूले देखाउनुभएको माया, विश्वास, साथ र सद्भावप्रति हामी उच्च सम्मान व्यक्त गर्दछौँ । आगामी दिनहरूमा पनि यहाँहरूको साथ, सहयोग र मायाको अपेक्षा राख्दछौँ ।
सिनेमाको बुकिङ बुधबारबाट नै खुलिसकेको छ । भोलिबाट प्रदर्शनमा आउने सिनेमालाई बसन्त निरौलाले निर्देशन गरेका छन् । ‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् । काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यस सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)लगायतको पनि मुख्य भूमिका रहेको छ ।
यस सिनेमाका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । सिनेमाको निर्मातामा काली रानी श्रेष्ठ छिन् । ‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । यो सिनेमा ‘सोसल ड्रामा’ भएको लेखक पौडेलले स्पष्ट पारेका छन् । उनका अनुसार सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ ।
यो सिनेमालाई श्याम तामाङले खिचेका छन् । सिनेमामा सुप्रिम पराजुली सम्पादन तथा रङ्ग सम्पादन, सम्राट बस्नेत द्वन्द्व निर्देशन, गम्भीर विस्ट र विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको बिजिएम, पुकार धिमालको भिएफएक्स, रोहित राज गौतम एचओपी र बिष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् । सिनेमा ‘पाँच पाण्डव’मा दर्शकले पूरै साउन्ड डल्बी एटमस साउन्ड अनुभव गर्न पाउने छन् । सिनेमा ‘पाँच पाण्डव’ तिहारको छेको पारेर कात्तिक २० गते (नोभेम्बर ६) देखि रिलिज हुँदैछ । सिनेमाको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । यो सिनेमालाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्नेछ ।