सिनेसुत्र, बिराटनगर- केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सले पुनः एक पटक चर्चित नायकद्वयलाई एउटै सिनेमामा अटाउने भएका छन् । पल शाह र प्रदीप खड्कालाई लिएर कृषा चौलागाईं र विशाल चौलागाईंले बनाउन लागेको सिनेमाको आज पूजा गर्दै शुभमुहूर्त गरिएको छ । यसअघि समेत मल्टिस्टारर सिनेमा निर्माण गरेको यो टिमले यस पटक पनि दुई चर्चित नायकलाई एकसाथ पर्दामा उतार्ने भएको छ । यी दुई नायकको साथमा सिनेमामा ब्युटिफुल राइजिङ स्टार सिम्रन पन्त देखिँदै छिन् । यससँगै जुना विश्वकर्माले यही सिनेमामार्फत डेब्यु गर्दै छिन् ।
मङ्सिरबाट म्याग्दीका रमणीय स्थलहरूमा छायाङ्कन सुरु हुने सिनेमाको अन्य भागको छायाङ्कन भने काभ्रेको बनेपामा गरिने निर्माण पक्षले जानकारी दिएको छ । सिनेमामा पल शाह, प्रदीप खड्का, सिम्रन पन्त र जुनाको साथमा लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना, सुरज तमु, जुना विश्वकर्मा लगायतको अभिनय रहनेछ । सिनेमाको कथा तथा संवाद अभिमन्यु निरविले लेखेका हुन् ।
कृषा चौलागाईंको निर्देशन रहने सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । विशाल चौलागाईंको निर्माण रहने सिनेमाको फाइनान्स म्यानेजर सविन ढुङ्गाना रहनेछन् भने प्रोडक्सन म्यानेजर रविन बख्रेल रहेका छन् । सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहने सिनेमामा मुख्य सहायक निर्देशक वसन्त अधिकारी रहनेछन् । आरआर फिल्म्सले वितरण गर्ने सिनेमाका वितरक रोहित कट्टेल र रत्न श्रेष्ठ रहनेछन् । सिनेमाको डिजिटल पार्टनर ओएसआर डिजिटल रहने निर्देशक कृषाले जानकारी दिएकी छन् । सिनेमा आगामी नयाँ वर्षबाट प्रदर्शनमा आउनेछ ।