सिनेसुत्र, बिराटनगर- यही मंसिर १७ गतेबाट प्रदर्शनमा आउन लागेको रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ। तीन पुस्ताका चर्चित नायिकाहरूलाई एकसाथ प्रस्तुत गरिएको यस सिनेमामा अभिनयकी खानी निरुता सिंह, कुनै समयकी चर्चित नायिका रेखा थापा र लोकप्रिय नायिका पूजा शर्माको अभिनय रहेको छ। सिनेमाको टिजर ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक टिजर हेर्दा सस्पेन्स र थ्रिलरको झल्को मिले पनि सिनेमा पूर्ण रूपमा पारिवारिक कथावस्तुमा आधारित रहेको देखिन्छ। पारिवारिक सम्बन्ध, रहस्यमय घटनाक्रम र न्यायका लागि हुने सङ्घर्षलाई प्रस्तुत गरेको यस सिनेमाले दर्शकलाई नयाँ स्वाद दिने अपेक्षा गरिएको छ। टिजरमा निरुता सिंह रेखा थापा तथा पूजा शर्माबीचको आन्तरिक द्वन्द्व र नोकझोकको चेपुवामा परेको देखिन्छिन्। यसले दर्शकमाझ सिनेमाको कथावस्तुप्रति उत्सुकता बढाएको छ।
चर्चित निर्देशक सबिर श्रेष्ठको निर्देशनमा तयार भएको यस सिनेमामा निरुता सिंह, रेखा थापा, पूजा शर्मा, पुष्प खड्का र महेश त्रिपाठीलगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। सिनेमालाई सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठले संयुक्त रूपमा निर्माण गरेका हुन् ।
टिजरमा रेखा थापा प्रहरी अधिकारीको भूमिकामा देखिएकी छन् भने पूजा शर्मा समाजमा हुने अन्यायविरुद्ध लड्ने पात्रका रूपमा प्रस्तुत भएकी छन्। त्यस्तै, निरुता सिंह आमाको भूमिकामा देखिएकी छन्। टिजरमा निरुताको अभिनयले दर्शकलाई उनको विगतको लोभलाग्दो अभिनयको समेत स्मरण गराउँछ।
रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको यस सिनेमामा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ। पारिवारिक सम्बन्ध, आपसी मनमुटाव र त्यसले निम्त्याउने परिस्थितिलाई सिनेमाले कसरी पर्दामा प्रस्तुत गर्छ भन्ने विषय चासोपूर्ण बनेको छ। फरक पुस्ताका तीन चर्चित नायिका रेखा थापा, पूजा शर्मा र निरुता सिंह पहिलोपटक एउटै सिनेमामा एकसाथ देखिन लागेकाले पनि ‘३६ को आँकडा’ दर्शकमाझ प्रतीक्षित बनेको छ।