सिनेसुत्र, बिराटनगर- लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय बिराटनगरका गायक सन्देश सुवेदी नयाँ गीत ‘अलि अलि बोल्दैमा’ मार्फत दर्शकमाझ आउने तयारीमा छन्। आफ्नै शब्द, संगीत र स्वरमा तयार पारेको उक्त गीतको म्युजिक भिडियो आगामी कात्तिक ३० गते विराटनगरको ह्यापी आवर हेभन रेस्टुरेन्टमा साँझ ६ बजे विशेष कार्यक्रमका बीच सार्वजनिक गरिने भएको छ।
भिडियोमा मोडेल साहिल खान र ग्रेसी मास्के श्रेष्ठ मुख्य भूमिकामा देखिनेछन्। उनीहरूका साथमा मनीष कटुवाल, लक्की खवास, विक्की घिमिरे र प्रदीप सदा लगायतका कलाकारले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियोमा बिराटनगरको भाइरल हुड डान्स टिमको पनि सहकार्य रहेको छ ।
गीतमा उदयराज पौडेलको संगीत संयोजन रहेको छ। म्युजिक भिडियोको निर्देशन निश्चल राणाले गरेका हुन् भने छायांकन ऋतिक साहले गरेका छन्। सम्पादन तथा निर्माणको जिम्मेवारी एचएस फिल्म्सले सम्हालेको छ। भिडियोको कोरियोग्राफी मनीष कटुवाल र विक्की घिमिरेले गरेका छन्।
सुवेदीका लागि यो गीत केवल नयाँ सांगीतिक प्रस्तुति मात्र नभई आफ्नो सांगीतिक यात्रालाई पुनः गति दिने प्रयास पनि हो। करिब १३ वर्षअघि १७ वर्षको उमेरमा ‘पागल प्रेमी’ बोलको गीतमार्फत चर्चा कमाएका उनी त्यसयता निरन्तर संगीतमा सक्रिय छन् तर, आफूले अपेक्षा गरेअनुसारको सफलता प्राप्त गर्न नसकेको अवस्थामा यसपटक ‘अलि अलि बोल्दैमा’ मार्फत श्रोता तथा दर्शकको माया र साथ पाउने आशामा छन्।