गाउँमा अस्पताल बनाउन बैंक लुट्ने योजना ! यस्तो छ ‘ककाकिकी’को ट्रेलर

0 Shares

सिनेसुत्र, बिराटनगर-हास्य प्रधान सिनेमा ‘ककाकिकी’को ट्रेलर सार्वजनिक गरिएको छ । यो सिनेमा यही आउँदो मंसिर ११ गतेबाट प्रदर्शन हुने तयारीमा छ । यसैबीच आज (शनिबार) काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलरमा सिनेमाका मुख्य विषयवस्तुहरूलाई समेटिएको छ । ट्रेलरले बताएअनुसार कुलेबारी गाउँका मानिसहरू गाउँमा अस्पताल बनाउनका लागि विभिन्न योजना बनाउँछन् । कतिपयले बैंक लुटेरै भए पनि अस्पताल बनाउनुपर्छ भन्ने निष्कर्षमा पुगेको देखिन्छ ।

ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरू तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेललगायतका कलाकारलाई देख्न सकिन्छ । ट्रेलर रिलिज कार्यक्रममा मुख्य कलाकार गौरी मल्लले आइरहेका धेरै सिनेमाभन्दा केही फरक बनाउने कोसिस यस सिनेमाको निर्माण टिमले गरेको दाबी गरिन् । कलाकार शिशिर वाङ्देलले निर्माण टिममा युवाजोस भएका साथीहरू भएकाले काम गर्दाको अनुभव राम्रो रहेको बताए । साथै कलाकार मनोज गजुरेलले धेरैपछि फेरि सिनेमामा जोडिन पाएको र ‘ककाकिकी’ आफ्नो दोस्रो सिनेमा भएको जानकारी दिए ।कार्यक्रममा निर्देशक बिक्की अगरवालले नेपाली दर्शकलाई मन पर्ने गरी सिनेमा बनाएको दाबी गरे । उनले सिनेमाको टिजर र ट्रेलर काट्ने काम पनि आफैँले गरेको र सिनेमा राम्रो हुँदा अथवा जस्तोसुकै प्रतिक्रिया आउँदा आफूले नै त्यसको जिम्मेवारी लिने बताए । यो सिनेमा सुरुमा भदौ १९ गते प्रदर्शन हुने भनिएको थियो । तर, देशमा ठूलो बाढीपहिरोले धेरैको जनधनको क्षति भएकाले त्यो बेला हाँस्ने र हँसाउने समय नभएको भन्दै सिनेमालाई मंसिर ११ गते प्रदर्शन गर्ने निर्णय गरिएको थियो ।

सिनेमालाई बिक्की अगरवालसँगै श्रद्धा प्रसाईंले निर्देशन गरेकी हुन् । सिनेमामा प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा, कमल देवकोटालगायतको पनि अभिनय रहेको छ ।

सिनेमाको लेखन निर्देशक बिक्कीसँगै सरोज भण्डारी र विकास अर्यालले गरेका हुन् । सिनेमाका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन् । यस्तै, कन्सेप्ट सुमन अग्रवालको हो भने स्क्रिप्ट डक्टरको काम विश्वास तिमल्सिना (बिटी कान्छा)ले गरेका छन् । सुदीप बरालको डीओपी रहेको सिनेमामा मुख्य सहायक निर्देशक अनिश बुढाथोकी हुन् भने सहायक निर्देशक विशाल राई हुन् । मेकअपमा अनिस तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार र प्रोडक्सन हेडमा अरुण रेग्मी रहेका छन् । सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलसँग छ भने अन्तर्राष्ट्रिय रिलिज अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ ।

सम्बन्धित समाचारसबै