सिनेसुत्र, बिराटनगर- सिनेमा ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै रिलिज डेट अनाउन्स गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति जानकारी गराइएको हो । ‘फ्रेन्च किस’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । माघे संक्रान्तिको अवसर पारेर यो सिनेमा प्रदर्शनमा आउन लागेको हो ।
सार्वजनिक टिजरमा एक युगल जोडी छ । जो काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर घुम्छन् । प्रेमका बारेमा आ-आफ्ना धारणा राख्छन् । प्रेम आधुनिक समयमा मिथकमा परिणत भइसकेको बताउँछन् ।
केटा र केटी नै एकअर्काप्रति आकर्षित छन् । एकान्तमा बसेर किस गर्छन् । र, होटेलमा पसेर जवानी साट्छन् । त्यसपछि केही ठूलो स्वरमा बोलेको सुनिन्छ, जसले उनीहरूको सम्बन्धमा चिसोपना आएको अनुमान लगाउन सकिन्छ । यसले आधुनिक प्रेममा देखिने गरेको क्षणिकता र आकर्षणलाई संकेत गरेको छ । टिजरमा अर्पण थापा र थिन्ले ल्हामो मात्रै छन् । उनीहरूको रोमान्सको वरिपरि टिजर घुमेको छ ।
अर्पण थापाले निर्देशन गरेको सिनेमामा अर्पण र थिन्ले ल्हामोसँगै रेखा थापा, गौरी मल्ल, आयशा तामाङलगायत कलाकारको अभिनय छ । ‘फ्रेन्च किस’मार्फत नयाँ पुस्ताको प्रेमकथालाई फरक ढंगले प्रस्तुत हुने निर्देशक थापाले यसअघि नै बताइसकेका छन् । सिनेमाको कथा पनि निर्देशक स्वयंको हो ।
निर्माण टिमले ‘फ्रेन्च किस’लाई नयाँ पुस्ताको स्वादअनुसारको सिनेमा भनेको छ । दर्शकले आधुनिक प्रेमकथाको अनुभूति यो सिनेमामार्फत गर्न पाउने निर्देशक अर्पणले बताएका छन् । ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने सिनेमालाई अभिनेता समेत रहेका अर्पण थापाले निर्देशन गरेका छन् । सिनेमाको कार्यकारी निर्मातामा सौगात बस्नेत र सह-निर्मातामा सुभाष बी. शाही छन् । सिनेमालाई सिनेमेटोग्राफर सुदीप बरालले खिचेका छन् । सिनेमामा संगीत चर्चित गायक तथा संगीतकार दीपक बज्राचार्यको रहनेछ ।