



सिनेसुत्र, बिराटनगर- नायक पल शाह र नायिका पूजा शर्माको सिनेमा “रावायण” पुनः सेन्सर गरिएको छ।
यससँगै भोलि (सोमबार) बिहानैदेखि सिनेमा १६ वर्ष मुनिका बालबालिका लगायत सबै उमेरका दर्शकहरूले हेर्न सक्नेछन्।
केही संवादमा प्रयोग गरिएको आपत्तिजनक शब्द तथा केही दृश्यमा ब्लर गरि केन्द्रीय सिनेमा जाँच समिति (सेन्सर बोर्ड) ले सुदर्शन थापा निर्देशित यो सिनेमालाई ‘पिजी सर्टिफिकेट’ प्रदान गरेको हो।
यससँगै अब सम्पूर्ण परिवार एकैसाथ बसेर यो सिनेमा हेर्न पाउने भएका छन्।
यसअघि, सिनेमा “रावायण” मा हिंसात्मक दृश्यहरूको अत्यधिक प्रयोग भएको भन्दै केन्द्रीय सिनेमा जाँच समितिले सिनेमालाई ‘एडल्ट सर्टिफिकेट’ दिएको थियो।
टिजर, ट्रेलर, र गीतहरूबाट राम्रो चर्चा पाएको यस सिनेमाले हलहरूमा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको छ।
सुदर्शन थापाको निर्देशनमा बनेको यो सिनेमामा पूजा शर्मा र पल शाहले मुख्य भूमिका निभाएका छन् भने प्रमोद अग्रहरी, प्रकाश शाह, प्रियंका कार्की, निकिता चण्डक, कैलाश रावल, अर्जुनजंग शाही, र शर्मिला मल्लको समेत दमदार अभिनय देख्न सकिन्छ।