सिनेसुत्र, बिराटनगर- यहि मंसिर १७ गतेदेखि प्रदर्शनमा आउन लागेको रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा ‘३६ को आँकडा’को दोस्रो गीत सार्वजनिक भएको छ। यसअघि सार्वजनिक गरिएको पहिलो गीत ‘बौलाउँछु कि क्या हो’लाई पनि दर्शकले अत्यधिक रुचाएका थिए।
तीन पुस्ताका चर्चित नायिकालाई एकसाथ प्रस्तुत गरिएको यस सिनेमामा अभिनयकी खानी निरुता सिंह, कुनै समयकी चर्चित नायिका रेखा थापा र लोकप्रिय नायिका पूजा शर्माको अभिनय रहेको छ। सिनेमाको दोस्रो गीत ‘जति उन्दै जान्छु’मा सुरेश अधिकारीको शब्द तथा संगीत रहेको छ भने अञ्जु पन्तको स्वर रहेको छ।
ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको मार्मिक गीतमा आमाको भूमिकामा रहेकी निरुता सिंह तथा छोरीको भूमिकामा रहेका रेखा थापा र पूजा शर्मा फिचर्ड छन्। गीतको सुरुवाती दृश्यमा आफ्नै बहिनीलाई जेलमा पुर्याउनुपर्दा एक दिदीले भोग्नुपरेको पीडालाई प्रस्तुत गरिएको छ।
सार्वजनिक गीत हेर्दा सिनेमाले पारिवारिक द्वन्द्वको कथा प्रस्तुत गर्ने संकेत गरेको छ। पारिवारिक कथावस्तु प्रस्तुत गर्न खप्पिस निर्देशक सबिर श्रेष्ठको निर्देशनमा तयार भएको यो सिनेमा पूर्ण रूपमा पारिवारिक रहेको अनुमान गर्न सकिन्छ। यसअघि सार्वजनिक टिजर हेर्दा सस्पेन्स र थ्रिलर शैलीको झल्को पाए पनि सिनेमाको मुख्य कथावस्तु पारिवारिक सम्बन्ध, रहस्यमय घटनाक्रम र न्यायका लागि गरिने सङ्घर्षमा केन्द्रित देखिन्छ।
टिजरमा निरुता सिंह, रेखा थापा र पूजा शर्माबीचको आन्तरिक द्वन्द्व तथा नोकझोकले दर्शकमाझ उत्सुकता थपेको छ। पारिवारिक सम्बन्धभित्र उत्पन्न हुने मनमुटाव र त्यसले निम्त्याउने परिस्थितिलाई सिनेमाले कसरी पर्दामा प्रस्तुत गर्छ भन्ने चासो पनि उत्तिकै छ।
चर्चित निर्देशक सबिर श्रेष्ठको निर्देशनमा तयार भएको यस सिनेमामा निरुता सिंह, रेखा थापा, पूजा शर्मा, पुष्प खड्का र महेश त्रिपाठीलगायत कलाकारको प्रमुख भूमिका रहेको छ। सिनेमालाई सरस्वती थापा, दुर्गा सापकोटा र गीता श्रेष्ठले संयुक्त रूपमा निर्माण गरेका हुन्।
रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ। फरक पुस्ताका चर्चित कलाकारलाई एकसाथ प्रस्तुत गरिएको यस सिनेमाले पारिवारिक कथा, रहस्य र भावनात्मक द्वन्द्वमार्फत दर्शकलाई हलसम्म आकर्षित गर्ने अपेक्षा गरिएको छ।