पूजा शर्मा र अशोक दर्जीको मुहूर्त सटसँगै ‘सेतो कोट’को शुभमुहूर्त सम्पन्न

0 Shares

सिनेसुत्र, बिराटनगर- मिनु शर्मा प्रोडक्सनको प्रस्तुति तथा शिवम अधिकारीको लेखन एवं निर्देशनमा सिनेमा ‘सेतो कोट’ निर्माण हुने भएको छ। कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा पूजाआजा गरेपछि आयोजित एक कार्यक्रमका बीच मुहूर्त गर्दै सिनेमाबारे जानकारी गराइएको हो।

सिनेमाको मुहूर्त सटमा अशोक दर्जी र पूजा शर्माले संवाद बोल्दै गर्दा नीर शाहले निर्देशन गरेका थिए। शोभित बस्नेत क्ल्यापमा थिए भने क्यामेरामा पत्रकार सरिता भारती थिइन्। त्यस्तै, नरिवल फुटाउने जिम्मेवारी चर्चित भिलेन सुशान्त श्रेष्ठले निभाएका थिए। दोस्रो सिनेमाका रूपमा ‘सेतो कोट’ निर्माण गर्न लागेकी निर्माता मिनु शर्माले आफ्नो पहिलो सिनेमा सफल भए पनि आफू जहाँको त्यही रहेको बताउँदै यस सिनेमाले आफूलाई पनि सफल बनाउने अपेक्षा व्यक्त गरिन्।

यसै सिनेमाबाट अभिनयमा डेब्यु गर्न लागेकी ‘माइली बुहारी’ नामले परिचित सुमित्रा दाहालले आफूलाई हँसाउनभन्दा रुवाउन सहज हुने बताइन्। निर्मातासँग कुराकानी भएपछि आफू सिनेमामा जोडिएको उनको भनाइ थियो। सेतो रङको अभाव भइरहेको समयमा यस सिनेमाले सेतोपन बचाउने अपेक्षा अभिनेता नीर शाहले व्यक्त गरे। अशोक दर्जीले यो टिमसँग काम गर्न उत्साहित रहेको बताए भने पूजा शर्माले आफूले कथा खोल्न सक्ने भन्दै धेरै प्रश्न नगर्न आग्रह गरिन्। निर्देशनमा बढी मेहनत गर्नुपर्ने भएकाले यसअघि स्क्रिप्ट लेखनमै व्यस्त रहेका शिवम अधिकारीले यसपटक समय छुट्याएर निर्देशन गर्न लागेको कार्यक्रममा जानकारी गराइएको थियो।

सिनेमाको कथामा मौलिकता, सामाजिक यथार्थ र भावनात्मक गहिराइलाई विशेष महत्त्व दिइएको निर्माण पक्षले जनाएको छ। नेपाली सिनेमामा कमै उठान गरिने विषयलाई मनोरञ्जनात्मक तथा प्रभावशाली सिनेम्याटिक शैलीमा प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। कथाको मूल भाव र घटनाक्रमलाई रहस्यपूर्ण राख्दै दर्शकलाई सोच्न, महसुस गर्न र समाजलाई नयाँ दृष्टिले हेर्न प्रेरित गर्ने विश्वास निर्माण पक्षले लिएको छ। मिनु शर्मा प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमाका निर्माता मिनु शर्मा ‘सपना’ तथा सन्देश थापा ‘काजी’ रहेका छन् भने कार्यकारी निर्माता फणीन्द्र तामाङ हुन्।

सिनेमामा नीर शाह, अशोक दर्जी, पूजा शर्मा र सुमित्रा दाहालसँगै पवन खतिवडा ‘बाबा’, विष्णु सापकोटा ‘हर्के हवलदार’, सुशान्त कुमार श्रेष्ठ, साम्राज्ञी थापा, सम्मान थापा, रामेश्वर रिजाल, दीपेन्द्र भण्डारी, कपिल खड्का, कृषा घिमिरे र सुप्रिया शर्मालगायतको अभिनय रहनेछ। सिनेमाको छायाङ्कन काठमाडौँ, मकवानपुरलगायत नेपालको ग्रामीण भेगमा गरिनेछ। सिनेमाको छायाङ्कन सौरभ लामाले गर्नेछन् भने सम्पादन बन्दे प्रसादको रहनेछ। सङ्गीत स्टिभ शङ्करले तयार गर्नेछन्।

त्यस्तै, हेड अफ प्रोडक्सनमा अरुण रेग्मी, मुख्य सहायक निर्देशकमा नवराज शर्मा, बजार व्यवस्थापनमा भावेश ढकाल, प्रचार सामग्रीमा सञ्जीव खड्की, कला निर्देशनमा डुक्राज तथा सहनिर्देशनमा दीप्त प्रकाश अधिकारी र एलियास मलिक रहनेछन्।

सम्बन्धित समाचारसबै