विराज भट्टको ‘१२ गाउँ’ युट्युब ट्रेन्डिङको दोश्रो स्थानमा: समीर भट्टको डेब्यु गीतले मच्चायो धूम

0 Shares

सिनेसुत्र, बिराटनगर- एक्सन स्टार विराज भट्टको निर्माण तथा निर्देशनमा बनेको सिनेमा ‘१२ गाउँ’को पहिलो गीत सार्वजनिक भएसँगै युट्युब ट्रेन्डिङमा स्थान बनाउन सफल भएको छ।

‘सिनेमा हेर्न जाउँ’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको केही घण्टाभित्रै ट्रेन्डिङमा प्रवेश गरेको थियो। निरन्तर ट्रेन्डिङमा उकालो लागिरहेको यो गीत, यो समाचार तयार पार्दासम्म युट्युबको दोश्रो स्थानमा ट्रेन्डिङ गरिरहेको छ।

गीतको भिडियोमा विराज भट्टका छोरा, डेब्यु अभिनेता समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाललाई प्रस्तुत गरिएको छ। समीरको नृत्यले दर्शकहरूलाई प्रभावित बनाउँदै गर्दा धेरैले उनको तारिफ गरिरहेका छन्। कतिपयले त अर्को मेगास्टारको आगमन भएको प्रतिक्रिया समेत दिएका छन्।

भिडियोमा समीर र सोनुलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ। सुनील क्षेत्रीको कोरियोग्राफी रहेको यो भिडियोले समीरको डान्स स्टेप्सलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ, जसले उनलाई सिनेमाका लागि निकै मेहनत गरेको देखाउँछ।

अर्जुन पोखरेलले लेखेको शब्द, बलिउड गायक नकाश अजिजको आवाज, र संगीतले यस गीतलाई अझ लोकप्रिय बनाएको छ। यसअघि सार्वजनिक गरिएको सिनेमाको पोस्टर र एक्सन टिजरले दर्शकमाझ उत्सुकता बढाएको थियो, जसले गर्दा यो गीतको प्रतीक्षा निकै थियो।

सिनेमाबाट दुई नयाँ अनुहारहरू, पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गरेका छन्। सिनेमामा मुख्य भूमिकामा विराज, समीर, न्यान्सी र सनिशाका साथै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, सन्तोष सरकार, र स्टन्ट शिल्भाको अभिनय रहेको छ।

विराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुतीमा बनेको यो सिनेमामा अर्जुन पोखरेल र निरजले संगीत भरेका छन् भने, कोरियोग्राफीको जिम्मेवारी रामजी लामिछाने, सुनिल क्षेत्री, र कविराज गहतराजले सम्हालेका छन्। सिनेमाको सम्पादन प्रवीन केएल र भुपेन्द्र अधिकारीले गरेका छन्।

‘१२ गाउँ’ एक्सन-थ्रिलर कथामा आधारित छ। यसका लागि विराजले भारतबाट अनुभवी द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई ल्याएका छन्, जसलाई शंकर महर्जनले सघाएका छन्। महेश पौडेलको छायांकन रहेको यो सिनेमा काठमाडौं, ललितपुर, वीरगञ्ज, र हेटौंडामा छायांकन गरिएको हो। सिनेमाको वितरण काफिया फिल्म्स र कुवेर सिने डिस्ट्रीब्युसनले गर्नेछन्।

सम्बन्धित समाचारसबै