



सिनेसुत्र, बिराटनगर- असोज ११ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘सानो संसार’ को ट्रेलर सार्वजनिक गरिएको छ।
निर्माता अर्जुन कुमारको लगानीमा बनेको यो सिनेमामा मध्यम वर्गीय परिवारले भोग्नुपर्ने संघर्ष र सन्तानको विदेश मोहले निम्त्याएको समस्यालाई समेटेर बनाइएको छ।
ट्रेलरले प्रस्तुत गरेको भावनात्मक कथा र दृश्यहरूले दर्शकमा कौतुहलता बढाएको छ, जसले सिनेमालाई हलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास निर्माण टिमले गरेको छ। प्रचार सामग्रीमा सिनेमाले दिने प्रभावशाली दृश्यहरूले पनि यसलाई थप आकर्षक बनाएको छ।
सिनेमा पारिवारिक कथामा आधारित छ, जसमा हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’की श्रीमती सीतादेवी तिमल्सेनाले मुख्य भूमिका निर्वाह गरेकी छन्। अन्य कलाकारहरूमा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी र जीवन गौतम रहेका छन्, जसले नेपाली सिने जगतमा आफ्नो डेब्यु गर्दैछन्।
यो सिनेमा राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा निर्माण भएको हो, जसमा अर्जुन कुमार निर्माता र माधव वाग्ले कार्यकारी निर्माता हुन्। सिनेमालाई राजधानी मिडिया र प्रिन्सेस मूभिजले संयुक्तरूपमा प्रदर्शन गर्नेछन्।
सिनेमाको निर्देशन सिद्धार्थ पुडार्सनीले गरेका छन्, जसले यो सिनेमाबाट लेखन र निर्देशनमा डेब्यु गरेका हुन्। सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले पनि योगदान दिएकी छन्। प्रवीन खड्काको छायांकन, रोमी तन्डुकारको सम्पादन रहेको यो सिनेमामा डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट रहेका छन्।