होस्टेल ३’को छायाङ्कन सुरु : पारस बम र सिम्रन पन्तले दिए भव्य मुहूर्त शट

0 Shares

सिनेसुत्र, बिराटनगर- आइतबार बिहान ललितपुरको कार्यविनायक मन्दिरमा नेपाली सिनेमा ‘होस्टेल ३’को शुभ मुहूर्त गरिएको छ।
शुभ मुहूर्त शटमा मिडिया तथा प्रेस प्रमुख जीवन पराजुलीले क्ल्याप हान्दै सिनेमाका प्रमुख कलाकार पारस बम र सिम्रन पन्तको छोटो अभिनय दृश्य छायाङ्कन गरिएको थियो । सिनेमा काठमाडौंको बोडेमा छायाङ्कन भइरहेको छ र पहिलो चरणको छायाङ्कन २५ दिनसम्म चल्ने छ।
तिहारपछि अर्को चरणको छायाङ्कन सुरु हुने निर्देशक सशान कँडेल जानकारी दिएकाछन् ।

‘होस्टेल’ शृङ्खलाको तेस्रो कडीको रूपमा हेरिएको ‘होस्टेल ३’ मा ‘कुल ब्वाय’ अर्थात् पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ र आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ।
अभिनेता आर्यन सिग्देल सिनेमा मा होस्टेलको वार्डेनको भूमिकामा रहनेछन् भने अभिनेत्री परीक्षा लिम्बु विशेष भूमिकामा हुनेछिन्।
आइतबार सम्पन्न मुहूर्तमा आर्यन सिग्देल र परीक्षा लिम्बु बाहेक सिनेमा का अन्य सबै कलाकारहरूको उपस्थिति थियो।

‘होस्टेल’ शृङ्खलाले नयाँ कलाकारहरूलाई नेपाली सिने उद्योगमा स्थापित गर्दै आएको छ। पहिलो ‘होस्टेल’ सिनेमा बाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यु गरेका थिए भने ‘होस्टेल रिटर्न्स’ले स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नाजिर हुसेन, र सुशील सिटौलालाई परिचित गराएको थियो।
२०७० सालमा रिलिज भएको ‘होस्टेल’ र २०७२ सालमा आएको ‘होस्टेल रिटर्न्स’ दुवै सिनेमा ले घरेलु बक्स अफिसमा सफलता हासिल गरेका थिए।

‘होस्टेल ३’ आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज हुने तयारीमा रहेको छ। सिनेमा को जापान, मध्यपूर्व, र मलेसियाका लागि वितरण अधिकार पहिले नै बिक्री भइसकेको छ।
सिनेमा को स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक सशान कँडेलकै हो। सिनेमा लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ।
सिनेमामा डिओपी अर्जुन तिवारी रहेका छन् भने सिनेमाटोग्राफर बुद्ध थापा र मनोज खत्री हुन्। मुख्य सहायक निर्देशक सुदिप कुँवर छन्। सिनेमा को प्रोडक्सन डिजाइन यम प्रसाद ओलीले गरेका छन्। कार्यकारी निर्माता शङ्कर कोइराला, निर्माता कर्ण कार्की र गोविन्द अधिकारी हुन् । सह-निर्माताहरूमा सुधा मरहट्ठा, सुरेश कँडेल, र अर्जुन सापकोटा रहेका छन् भने लाइन प्रोड्युसर भेषराज गौतम हुन्।

सम्बन्धित समाचारसबै