जितु नेपाल र नीति शाहको जोडीले बढाउँदै ‘ज्वाइँ साब’ प्रति दर्शकको चासो

0 Shares

सिनेसुत्र, बिराटनगर- असोज २४ गते रिलिज हुने नेपाली सिनेमा ‘ज्वाइँ साब’ का प्रमुख कलाकारद्वय जितु नेपाल र नीति शाह अहिले सिनेमा वृत्त र दर्शकहरूमाझ ‘हट केक’ बनेका छन्। जितु र नीति सिनेमा ‘ज्वाइँ साब’ मा अनुबन्धित भएदेखि नै उनीहरूको जोडीलाई लिएर धेरैको चासो बढेको थियो, जुन सिनेमा प्रचारप्रसारका पोस्टर, टिजर र ‘कसम बत्तीको’ गीत सार्वजनिक भएपछि झनै गहिरिएको छ।

पोस्टर, टिजर, र गीतले सिनेमा प्रति देखिएको कौतुहलतालाई केहि हदसम्म मेटाएको छ। दुई दशक लामो अभिनय यात्रामा रहेका जितु नेपाल र सिनेमा क्षेत्रमा उदाएकी नीति शाहको क्यामेस्ट्रीलाई गीत ‘कसम बत्ती’ बाट राम्रो प्रतिक्रिया मिलेको छ। यो गीत टिकटकमा अत्याधिक चर्चित भइरहेको छ, जहाँ सबै उमेरका दर्शकहरूले आफ्नो प्रेमभावलाई प्रस्तुत गर्दै भिडियो बनाइरहेका छन्।

सिनेमा निर्माण टिमले प्रचारप्रसार सामग्रीमा जितु र नीतिलाई बेहुला बेहुलीको रूपमा प्रस्तुत गरेको पोस्टरले पनि ठूलो चर्चा पाएको थियो। पोस्टरमा जितुलाई डोलीमा राखिएको र नीतिलाई बेहुलीको रूपमा प्रस्तुत गरिएको दृश्यले दर्शक र सिनेमा समीक्षकहरूको चासोलाई थप बढाएको छ। साधारणतया, बेहुलीलाई डोलीमा राख्ने परम्परालाई उल्ट्याउँदै, यो सिनेमाले नयाँपन प्रस्तुत गरेको छ।

सिनेमाका निर्देशक वसन्त निरौलाले ‘ज्वाइँ साब’को कथा फरक र आकर्षक हुने बताउँदै, पोस्टर, टिजर र गीतले सिनेमालाई राम्रो हाइप दिएको उल्लेख गरेका छन्। उनका अनुसार जितु र नीति शाहको गेटअपले पनि सिनेमा प्रति चासो बढाएको छ र दुवैले आफ्नो पात्रलाई न्याय दिएको बताउँछन्।

प्रस्तुतकर्ता राजकुमार पण्डितको यो सिनेमामा बुद्धि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, निमा पाण्डे लगायतका कलाकारहरूको पनि अभिनय छ। विजय बस्याल कार्यकारी निर्माताको रूपमा रहेका छन् भने मीनादेवी खड्का, सौगात पण्डित, र पदमलाल तामाङले सिनेमामा लगानी गरेका छन्।

संगीत अर्जुन पोखरेल र महेश ताम्राकारले दिएका छन् भने छायांकन श्याम तामाङ, सम्पादन सन्देश शाह, र एक्सन निर्देशन संजय थापाको रहेको छ।

सम्बन्धित समाचारसबै