




सिनेसुत्र, बिराटनगर- सिनेमा ‘छक्का पञ्जा ५’ को दोस्रो गीत ‘ब्रेकअप सङ्ग’ भर्खरै सार्वजनिक भएको छ। चर्चित गायक बाबुल गिरीले यस गीतमा आफ्नो सुमधुर आवाज दिएका छन् भने उनले संगीत, शब्द, एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग सबै जिम्मेवारी आफैँ सम्हालेका छन्। उक्त गीतको भिडियोमा कोरियोग्राफी गम्भीर विष्टको रहेको छ ।
भिडियोमा प्रमुख कलाकारहरू दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे ‘माग्ने बुढा’, दीपा श्री निरौला, सुरवीर पण्डित, र रामेश्वर केसीको आकर्षक अभिनयले विशेष ध्यान खिचेको छ। कलाकारहरूको ऊर्जा र मनमोहक नृत्यले दर्शकलाई प्रभावित बनाएको छ।
‘छक्का पञ्जा ५’ यो दसैँको अवसरमा, असोज २४ गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउँदैछ। सिनेमा निर्देशक दीपा श्री निरौलाले यस पटक पनि दर्शकलाई हँसाउँदै महत्वपूर्ण सन्देश दिन खोजेको बताएकी छिन्।
सिनेमा निर्माता निर्मल शर्मा र तेज गिरीको निर्माणमा बनेको यस शृङ्खलामा अभिनेता आर्यन सिग्देलले केमियो भूमिका निभाउँदैछन्, जसले कथालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ। हरि हुमागाईँको छायाङ्कन, दीपकराज गिरीको पटकथा तथा केदार घिमिरे र दिलीप तामाङको संवादले सिनेमालाई थप प्रभावकारी बनाएको छ।
द्वन्द्व निर्देशन रोशन श्रेष्ठले गरेका छन् भने सम्पादन विपिन मल्लले सम्हालेका छन्। ‘छक्का पञ्जा’ शृङ्खलाका अघिल्ला चार भाग जस्तै, पाँचौँ शृङ्खलाले पनि दर्शकको मन जित्दै सुपरहिट हुने अपेक्षा गरिएको छ। दर्शकहरूले यस पटक पनि दीपकराज गिरी र केदार घिमिरेको हास्य अभिनयको आतुर प्रतीक्षा गरिरहेका छन्।