




सिनेसुत्र, बिराटनगर- सलोन सलिना फिल्म्स प्रालिको ब्यानरमा निर्माण हुन लागेको सिनेमा ‘रंगी’ को गीत ‘छ नि माया’ काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड गरिएको छ। यस गीतमा आनन्द कार्की र सुजता केसीको आवाज सुन्न पाइनेछ।

गीतमा दुर्गेश थापाले गीत लेख्नुका साथै संगीत र एरेन्ज पनि गरेका छन्, भने मिक्सिङ र मास्टरिङको जिम्मा विमल छिनलले सम्हालेका छन्।
यो सिनेमा सलोन बस्नेतको प्रस्तुति रहनेछ भने पूर्व मिस नेपाल नम्रता श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेकी छन्। यस सँगै, ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’ जस्ता चर्चित सिनेमामा मुख्य सहायक निर्देशनको अनुभव बटुलेका सुरेश न्यौपानेले यो सिनेमाबाट निर्देशनमा डेब्यू गर्न लागेका छन्।

यसअघि निर्माण पक्षले सिनेमाको टाइटल पोस्टर सार्वजनिक गरिसकेको छ, जहाँ साइकलमा बसेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देख्न सकिन्छ, जसलाई बाबु-छोरीको कथामा आधारित रहेको अनुमान गर्न सकिन्छ। पृष्ठभूमिमा सूर्यास्तको दृश्यले कथा थप रोचक बन्ने संकेत दिएको छ।
सक्षम सुवेदीको निर्माणमा तयार हुने यस सिनेमाको कथा सुमन गजमेरले लेखेका छन् भने सौरभ लामा सिनेमाटोग्राफीको जिम्मा सम्हाल्दैछन्।