




सिनेसुत्र, बिराटनगर- एक्सन स्टार विराज भट्टको निर्माण र निर्देशनमा बनेको सिनेमा ‘१२ गाउँ’को दोस्रो गीत ‘कसो कसो’ सार्वजनिक भएको छ।
सिनेमाको यस गीतमा मुख्य अभिनेता तथा विराज भट्टका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् । रामजी लामीछानेको कोरियोग्राफीमा तयार पारिएको यस गीतमा समीर र सोनुलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ।
यो गीतमा बलिउड संगीतकार निरज सिंहको कम्पोज, सुवास चन्द्र ढुंगेलको शब्द रचना, र सुगम पोखरेल र सदिक्षा कट्टेलको आवाज रहेको छ। गीतको एरेन्ज र संगीत प्रोडक्सन सौरव लोखन्डेको रहेको छ भने संगीत सुपरभाइजर र साउन्ड डिजाइनमा निरज सिंह र रेवन आरती सिंहको रहेको छ।
‘१२ गाउँ’ सिनेमाबाट समीर भट्टका साथै दुई नयाँ अभिनेत्रीहरू, पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि आफ्नो अभिनय यात्रा सुरु गरेका छन्। यस सिनेमामा विराज, समीर, न्यान्सी, सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ।
विराज भट्ट फिल्म प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको यस सिनेमामा अर्जुन पोखरेल र निरज सिंहको संगीत, रामजी लामीछाने, सुनिल क्षेत्री, र कविराज गहतराजको कोरियोग्राफी, र प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ। सिनेमाको कथा स्वंयम विराज भट्टले लेखेका छन् भने पटकथा र संवाद सन्तोष सरकारले तयार पारेका छन्। एक्सन-थ्रिलर कथामा आधारित यो सिनेमाका लागि विराजले भारतबाट तमिल र कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई ल्याएका छन्, जसलाई शंकर महर्जनले सघाएका छन्।
महेश पौडेलको छायांकनमा तयार भएको यस सिनेमाको छायांकन काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौँडामा गरिएको हो। सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछन्।