सिनेसुत्र, बिराटनगर- असोज १७ गते प्रदर्शनमा आउने सिनेमा ‘बेहुली फ्रम मेघौली’ले दर्शकका लागि आकर्षक पुरस्कार जित्ने अवसर प्रस्तुत गरेको छ। सिनेमाको निर्माण पक्षले बेहुली हुँदाको कथा लेखेर सहभागिता जनाउन आग्रह गर्दै पुरस्कार जित्न सकिने घोषणा गरेको हो।
असोज १२ गते शनिबार छाया सेन्टर, काठमाडौंमा दशैं मेला आयोजना हुँदै छ। नायिका तथा निर्मात्री स्वस्तिमा खड्काका अनुसार, “तपाईंहरूले यस मेलामा मनग्गे सपिङ गर्न सक्नुहुनेछ। साथै, आफ्नो बेहुली हुँदाको कथा लेखेर पठाएर आकर्षक पुरस्कार जित्न सक्नुहुनेछ।”
प्रतियोगितामा भाग लिन इच्छुकहरूले ३०० शब्दभित्र आफ्नो बेहुली हुँदाको अनुभव रोचक शैलीमा लेख्नुपर्नेछ। लेखिएको कथा/अनुभवलाई [email protected] वा [email protected] मा पठाउनुपर्नेछ। कथा पठाउने अन्तिम मिति असोज १० गतेसम्म हुनेछ।

स्वस्तिमाले थप जानकारी दिँदै भनिन्, “तपाईंहरूले पठाएका कथाहरूबाट उत्कृष्ट कथा लेख्ने सहभागीलाई ‘बेहुली फ्रम मेघौली’को ग्राण्ड प्रिमियरमा विशेष निमन्त्रणा गरिनेछ। साथै, प्रिमियरको २ वटा टिकट पनि पुरस्कारस्वरूप प्रदान गरिनेछ।
सिनेमामा निश्चल बस्नेत र स्वस्तिमा खड्काको प्रमुख भूमिका रहेको छ भने अन्य कलाकारहरूमा बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको पनि अभिनय रहेको छ।
‘बेहुली फ्रम मेघौली’ ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा हो। सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको यो उनीहरूको डेब्यु निर्देशकीय सिनेमा हो। स्वस्तिमा खड्कालाई निर्माणमा निश्चल बस्नेतले साथ दिएका छन्। सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।
सिनेमामा विजय बराल कास्टिङ डिरेक्टरका रूपमा छन् भने नरेन्द्र मैनालीले सिनेमाटोग्राफी गरेका छन्। कोरियोग्राफी प्रदीप लामा र केबीका खत्रीले गरेका हुन्। संगीत जयन जे वाइवा र कुशल पोखरेलको रहेको छ। सम्पादन निमेष श्रेष्ठले गरेका छन्। सिनेमाको प्रोडक्सन डिजाइन घनश्याम श्रेष्ठले गरेका छन् भने स्टील फोटोग्राफी केशव पाण्डे र लक्ष्मण पाण्डेको रहेको छ। ‘बेहुली फ्रम मेघौली’लाई एप्पल इन्टरटेनमेन्ट र डिसिएनले वितरण गर्दैछन्।