

सिनेसुत्र,बिराटनगर- सरोज पौडेलको निर्देशनमा तयार गरिएको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को दोस्रो गीत सार्वजनिक भएको छ। सिनेमाको ‘दाहिने हातैमा’ बोलको गीतमा शब्द, संगीत र स्वर प्रशान्त सिवाकोटीको रहेको छ।
यो गीत गाउँगाउँ डुल्दै रोजीरोटीको लागि सारङ्गी बजाउने गन्धर्वको वास्तविकता समेटिएको छ। गीतका शब्दहरू मीठासपूर्ण, गायन र संगीत कर्णप्रिय छन्। गीतको विषय प्रेमिल भावमा आधारित छ, जसले लुकीलुकी चौतारीमा भेटेका मायालुको संवादलाई प्रस्तुत गर्दछ।
अभिनेता विजय बराल र अभिनेत्री अञ्जना बराइलीबीचको प्रेमलाई गीतमा देखाइएको छ। विजयले गीतमार्फत् आफ्नो दुई साथी मुकुन भुसाल र बुद्धि तामाङसँग आफ्ना जवान कालको प्रेमकथा सुनाएका छन्। तर, गीतको अन्त्यमा उनले यो केवल एउटा सपना भएको कुरा खुलासा गर्छन्। सिनेमामा विजय र मुकुन गन्धर्वको भूमिकामा रहेका छन्, र यो गीतले त्यहि कुरा प्रस्ट पार्छ।
सिनेमामा प्रकाश सपूत, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, स्वायम् केसी, जाहन्वी पौडेल जस्ता कलाकारहरूको अभिनय रहेको छ। निर्देशक पौडेलको कथा र महेश दवाडीको पटकथा तथा संवाद लेखनमा यो सिनेमा तयार भएको हो। सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाई, हरि श्रेष्ठ र रमेश ढकाल हुन्। आगामी कार्तिक १५ गते लक्ष्मीपूजाको अवसरमा यो सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउनेछ।
‘पूर्ण बहादुरको सारङ्गी’ सेभेन सिज सिनेमा र बाँसुरी फिल्म्सको प्रस्तुति हो, जसमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताका रूपमा कार्यरत छन्। सिनेमामा गन्धर्व परिवारको कथा उठाइएको छ। यसका साथै प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, र प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर पनि सुनिन सक्छ।