
सिनेसुत्र, बिराटनगर- सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने सिनेमा ‘रंगी’ को स्क्रिप्ट पूजा सम्पन्न भएको छ।
घटस्थापनाको अवसरमा बिहीबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा स्क्रिप्ट पूजा गरियो। यस सिनेमामा सलोन बस्नेत प्रस्तुतकर्ता रहनेछन्।
सिनेमा ‘रंगी’ को निर्देशन सुरेश न्यौपानेले गर्नेछन्, न्यौपानेको यो डेब्यू निर्देशन हो । स्क्रिप्ट पूजा कार्यक्रममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, निर्देशक सुरेश न्यौपाने लगायतको उपस्थिति रहेको थियो।

सिनेमामा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आरुषी कार्की, विशाल पहारी, र सुमिन गुरुङको अभिनय रहनेछ। सिनेमाको छायांकन कार्तिक ५ गतेबाट सुरु हुने घोषणा गरिएको छ।
सुरेश न्यौपाने यसअघि ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, र ‘कृ’ जस्ता चर्चित सिनेमाहरूमा मुख्य सहायक निर्देशकको रूपमा काम गरिसकेका छन्।

यसअघि निर्माण पक्षले सिनेमा ‘रंगी’ को टाइटल पोस्टर सार्वजनिक गरिसकेको थियो। पोस्टरमा एक बालिका साइकलमा बसिरहेको र उनलाई खेलाउँदै गरेको एक पुरुष देखाइएको थियो। उनीहरू बाबु-छोरी भएको अनुमान गर्न सकिन्छ। पृष्ठभूमिमा सूर्यास्त देखाइएको पोस्टरले बाबु-छोरीको कथालाई चित्रण गर्ने संकेत गरेको छ।
सिनेमामा सक्षम सुवेदीको निर्माण, सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन रहनेछ।