बिराटनगर, सिनेसुत्र – पूर्वीको कोशी प्रदेशबाट प्रचार अभियान सुरु गर्दै सिनेमा ‘कार्साङ’ पुस २६ गते प्रदर्शनमा आउने भएको छ। निर्देशक यम शेर्पाको डेब्यु सिनेमाले शेर्पा समुदायको संस्कृति र ग्रामीण नेपाली जीवनको कथा भन्ने प्रयासमा छ।
सानो पर्दाबाट दर्शकको मन जित्दै ठूलो पर्दासम्मको यात्रा तय गरेका हास्य कलाकार जितु नेपालको पनि अभिनय सशक्त देखिएको छ । पछिल्लो समय गम्भीर भूमिकामा पनि जितु नेपाल सफल ठहरिएका छन ।
सानैदेखि हास्य भूमिकामा जम्दै आएका जितु, मुख्य पात्रको रूपमा भने दर्शकलाई फरक धारका भूमिका प्रस्तुत गर्दै आएका छन्।
सिनेमा ‘कार्साङ’मा भने उनी फेरि सहायक भूमिकामा फर्किएका छन्। टिजरले दयाहाङ राईसँगको सहकार्यमा उनी दलित समुदायको पात्रको भूमिकामा देखिने संकेत दिएको छ। पोस्टरमा उनको चरित्रले आम ग्रामीण नेपालीको कथा बोल्ने झल्को दिएको छ।
बच्चा नभएको दोष र त्यसको परिणामले उब्जिएको रहस्यले सिनेमालाई थप रोचक बनाउने देखिन्छ। साथै, जितु दर्शकलाई हँसाउने आफ्नो विशेष शैलीमा प्रस्तुत हुनेछन्।
यसअघि दसैंमा रिलिज भएको सिनेमा ‘ज्वाइँ साब’मा मुख्य भूमिकामा देखिएका जितु अब ‘कार्साङ’मार्फत फेरि चरित्र भूमिकामा देखिने तयारीमा छन्।
दयाहाङ राई, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङलगायतको सशक्त अभिनयले भरिएको यो सिनेमा यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुति हो। सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार हुल्या इभेन्ट्सले लिएको छ भने देशभर आरआर फिल्म्सले जिम्मा लिएको छ।
‘कार्साङ’ले नेपाली परिवेश, संस्कृति र समाजको विविध पक्षलाई उजागर गर्ने प्रयास गरेको यस सिनेमाको यात्रा कति सफल हुनेछ भन्ने हेर्न दर्शक पुस २६ सम्म पर्खनुपर्नेछ।