सिनेसुत्र, बिराटनगर- उडान स्टुडियोको प्रस्तुति रहेको नेपाली सिनेमा ‘आशा’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । फर्स्टलुकअन्तर्गत सार्वजनिक गरिएको पोस्टरमा सिनेमाका मुख्य पात्रहरू महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् । पारिवारिक कथामा निर्माण भएको यस सिनेमाको पोस्टरले दर्शकमा कौतुहलता जगाउन सफल भएको छ ।
पोस्टरमा एउटा घर देखाइएको छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्बिरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा पण्डितको रूपमा प्रस्तुत छन् भने महेश त्रिपाठी किरियामा बसेको देखिन्छन् । अभिनेत्री अञ्जना बराइली भने ढोकाको दैलोबाट चिहाएर हेरिरहेकी छन् । रोयल भीमसेनले तयार पारेको पोस्टरले सिनेमाको कथासार सङ्केत गर्नुका साथै दर्शकमाझ विभिन्न प्रश्नसमेत उब्जाएको छ ।
सिनेमाकी निर्मात्री शर्मिला थापाले सिनेमाको विषयवस्तुअनुसार नै पोस्टर तयार पारेर सार्वजनिक गरिएको बताइन् । उनले भनिन्, ‘सिनेमा पूर्णरूपमा पारिवारिक कथामा तयार भएको छ । यो एउटा परिवारले हेर्ने र मनन गर्नुपर्ने सिनेमा बनेको छ । हामीले विषयप्रधानसँगै यसलाई सिनेमाको शैलीमै तयार गरेका छौँ, जसले हलसम्म पुग्नुभएका दर्शकको समय र पैसा वसुल हुन्छ ।
उनले सिनेमाको प्रदर्शन मिति आगामी फागुन १४ गतेलाई तय गरिएको जानकारी दिइन् । वितरक तथा प्रदर्शकसँगको छलफलपछि उक्त मितिमा सिनेमा प्रदर्शन गर्न लागिएको उनले जनाइन् । निर्देशक राजीव गुरुङको कथा तथा निर्देशनमा तयार भएको सिनेमामा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी, बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारीलगायतको अभिनय रहेको छ ।
सिनेमाको छायांकन काठमाडौं उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो । सिनेमालाई रीच इन्टरटेनमेन्टले वितरण गर्दैछ । सिनेमामा स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र एसडी योगी, साउन्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य तथा मेकअप एन्ड हेयरमा सोनाली शिल्पकार रहेका छन् ।
यस्तै, सिनेमामा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) तथा वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।