‘फेरि रेशम फिलिली’को दुई नयाँ पोस्टर सार्वजनिक, पहिलो गीत भोलि आउँदै !!!

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमाको बहुप्रतीक्षित पहिलो गीत ‘फेरि जालमा’ भोलि बिहीबार रिलिज हुने भएको छ। गीत रिलिजको पूर्वसन्ध्यामा निर्माण टिमले दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ।

पहिलो पोस्टरमा प्रमुख कलाकार विनय श्रेष्ठ, सुपुष्पा भट्ट, र कामेश्वर चौरसियालाई प्रस्तुत गरिएको छ। पोस्टरमा विनय भूँइमा लडेका छन्, हातमा पासपोर्ट देखाउँदै, जबकि सुपुष्पाले उनलाई बन्दुक ताकेकी छन् र कामेश्वरले दुई हात जोडेर माफी मागिरहेका छन्। पोस्टरको पृष्ठभूमिमा धरहरा र स्ट्याचु अफ लिबर्टी देखिन्छ, जसले सिनेमाको कथावस्तु आप्रवासन र नेपाली समाजको अमेरिकी मोहसँग सम्बन्धित रहेको संकेत गर्छ।

दोस्रो पोस्टरमा सिनेमाका सबै प्रमुख पात्रहरू देख्न सकिन्छ। हास्यरसले भरिएको यस सिनेमाले पहिलो सिक्वलझैँ भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।

निरज महर्जनको निर्देशन रहेको सिनेमामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरसिया, नीर शाह, रविन्द्र झा, शिशिर वाङ्गदेल, महेश त्रिपाठी, एवनराज उप्रेती लगायतका कलाकारको अभिनय रहेको छ। संगीतमा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको योगदान रहेको छ।

‘फेरि रेशम फिलिली’लाई काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछन्। निर्माण टिमका अनुसार सिनेमा मनोरञ्जनको पूर्ण प्याकेज बन्नेछ।

सम्बन्धित समाचारसबै