सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा क्षेत्रमा नयाँ स्वाद ल्याउने लक्ष्यसहित निर्देशक दीपेन्द्र लामाले आफ्नो नयाँ प्रोजेक्ट ‘मुनामदनको ब्रेकअप’को घोषणा गरेका छन्। ग्रामीण परिवेशमा आधारित प्रेमकथालाई नयाँ ढंगले देखाउने यो सिनेमाको कथा सामीप्यराज तिमल्सेनाले लेखेका हुन् भने कार्यकारी निर्माताको जिम्मा श्रीधर पौडेलले लिएका छन्।
२०७५ सालको सफल सिनेमा ‘गोपी’ पछि लामा, तिमल्सेना र पौडेलको टोली फेरि एकसाथ जुटेको हो। हालसम्मका लागि मुख्य भूमिकामा अभिनेता राज कटवालको नाम सार्वजनिक गरिएको छ। उनले पछिल्लो पटक ‘नरसिंहा अवतार’मा अभिनय गरेका थिए।
निर्देशक लामाले भने, “राज कटवालको व्यक्तित्व र अभिनयशैली हाम्रो कथाका पात्रसँग एकदम फिट हुन्छ। बाँकी कलाकार पनि कथाको माग अनुसार छान्दैछौं।” लामाले यसअघि ‘घामपानी’देखि ‘दुखी आत्मा’सम्म छ वटा फरक-फरक धारका सिनेमाहरू निर्देशन गरिसकेका छन्।
कथाकार तिमल्सेनाले यो सिनेमामा दर्शकले अझै नदेखेको प्रकारको प्रेमकथा पाउने विश्वास व्यक्त गरे। उनले भने, “नेपाली सिनेमामा आजसम्म देखिँदै आएका कथाभन्दा भिन्न स्वभाव र स्वादको कथा यसमा ल्याउन खोजिरहेका छौं। पटकथामा धेरै मिहिनेत भइरहेको छ, ताकि हलसम्म दर्शकलाई तान्न सकियोस्।”
मुख्य कलाकार राज कटवालले आफू यस सिनेमामा काम गर्न पाउँदा उत्साहित भएको बताए। “यो भूमिका मेरो लागि निकै चुनौतीपूर्ण छ। अघिल्ला सिनेमाभन्दा बढी मेहनत गरेर आफूलाई परिष्कृत गर्ने कोसिस गर्दैछु,” उनले भने।
कास्की जिल्लाको ग्रामीण भेगमा छायांकन गरिने सिनेमाको प्रि-प्रोडक्सन तीव्र रूपमा अघि बढिरहेको छ। कार्यकारी निर्माता पौडेलका अनुसार सबै तयारी पूरा भएपछि मात्र छायांकन सुरु गरिनेछ। उनले भने, “हामीले राम्रो गुणस्तरीय सिनेमा ल्याउन चाहेकाले हतार नगरी काम गरिरहेका छौं।”
‘मुनामदनको ब्रेकअप’ नेपाली सिनेमामा नयाँ स्वाद दिन सक्षम हुने आशा गरिएको छ।
