सिनेसुत्र, बिराटनगर- यही श्रावण १६ गते प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘रियाल रिङ्गेट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। श्रावण सङ्क्रान्तिको अवसर पार्दै सार्वजनिक गरिएको ट्रेलरमा नेपाली युवाहरूले अपनाउन बाध्य वैदेशिक रोजगारी र त्यस क्रममा भोग्नुपरेका विभिन्न कठिनाइहरू देख्न सकिन्छ।
ट्रेलरका केही दृश्यहरू दिल चस्काउने खालका छन्। ती दृश्यहरूले आतङ्ककारीको सामूहिक बन्दी बनाइएका तथा कब्जामा परेका नेपाली कामदारहरूको झल्को दिन्छन्। सिनेमाका अभिनेता प्रमोद चौलागाईँले कब्जामा रहेकै बेला नेपालमा पठाएको भिडियो सन्देश टेलिभिजनमा प्रसारण भइरहेको देखिन्छ।
ट्रेलर सार्वजनिक भएलगत्तै सिनेमाका निर्देशक विभोर पोखरेल ले ‘रियाल रिङ्गेट’ हरेक नेपालीको कथा भएको उल्लेख गरे। उनका अनुसार, “यो सिनेमा वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीहरूले भोग्नुपर्ने यथार्थ र उनीहरूको जीवनशैलीलाई नजिकबाट चित्रण गर्नेछ।”
सिनेमाको नाम ‘रियाल रिङ्गेट’ आफैँमा प्रतीकात्मक छ। ‘रियाल’ कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको मुद्रा हो। यी दुई नामको संयोजनले नेपाली श्रमिकहरूको लागि प्रमुख गन्तव्य मुलुकहरूलाई सङ्केत गर्छ, जहाँ लाखौँ नेपालीहरूले परिवारको गुजारा चलाउन र राम्रो भविष्यको खोजीमा काम गरिरहेका छन्।
सिनेमामा प्रमोद चौलागाईं र निता ढुङ्गानासहित छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमाको लेखन प्रदीप भारद्धाजले गरेका हुन्। रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको कोरियोग्राफी रहेको छ।
सिनेमाका गीतहरूमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसीको संगीत रहेको छ भने सुगम पोखरेल, केतन क्षेत्री, रामचन्द्र काफ्ले र जुनू रिजाल काफ्लेले स्वर दिएका छन्। गीतका शब्दहरू अमर न्यौपाने, रवि मल्ल, कोसिस क्षेत्री, प्रदीप भारद्धाज र चन्दन ध्वज केसीले लेखेका हुन्। ‘रियाल रिङ्गेट’ को छायाङ्कन भारतको राजस्थान तथा नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो। यो सिनेमालाई काफिया फिल्म्स ले वितरण गर्नेछ। भिडियो हेर्नुहोस :