पल शाहको एक्सन त्यसमाथि दोहोरो भूमिका: सिनेमा ‘मोहर’ ट्रेलर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- अभिनेता पल शाहको मुख्य भूमिका रहेको सिनेमा ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको ट्रेलरमा मुख्य पात्रहरूबीचको द्वन्द्व, प्रेम र आदर्शको द्विविधालाई प्रभावशाली संवाद र एक्सनका दृश्यमार्फत चित्रण गरिएको छ ।

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन सिनेमाको ट्रेलरमा अभिनेता पल शाह एक इमानदार र निडर युवकको भूमिकामा देखिएका छन्, जो अन्यायविरुद्धको लडाइँमा अग्रपंक्तिमा देखिन्छन् । निति शाहको रूप नयाँ र सशक्त छ, जसले प्रेमिकाको भूमिकासँगै कथावाचनमा रोचकता थपेको छ ।एउटी बालीकालाई देउकी चढाउने बिषयबाट उठान भएको ट्रेलरबाट यो सिनेमाले एक्सन, प्रेम र बदलाको भावना मिश्रण गर्दै दर्शकको ध्यान खिच्ने प्रयास गरेको छ । अभिनेत्री बेनिशा हमाल र कलाकार अर्जुन जंग शाहीले समेत ट्रेलरमा आफ्नो मजबुत उपस्थिति देखाएका छन् । सिनेमाटोग्राफी र ब्याकग्राउण्ड स्कोरमा ‘मोहर’ अब्बल देखिन्छ ।

ट्रेलरमा उठाइएको प्रेम, सामाजिक अन्यायको भावनाले कथालाई गति दिएको आभाष हुन्छ । निर्देशक ओम प्रतिकले ‘मोहर’ दर्शकलाई सन्देशसँगै मनोरञ्जन दिने उद्देश्यले निर्माण गरिएको बताएका छन् । यो ट्रेलरले सिनेमाप्रतिको उत्सुकता बढाउने देखिन्छ ।फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिएको सिनेमामा मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा, अर्जुन आचार्य र बाल कलाकार सारा शर्माको मुख्य भूमिका छ ।

ओम प्रतिकको लेखन तथा निर्देशन रहेको सिनेमामा चुम्बन जंग शाहीको लगानी छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको सिनेमामा दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन, रेनिश फागोको कलर, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत छ । रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन रहेको यो सिनेमाको ट्रेलरलाई साहिल खानले तयार पारेका हुन् । रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले यो सिनेमाको वितरण गर्नेछन् । ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै