सिनेसुत्र, बिराटनगर- सिनेमा ‘जुबा’ निर्माणको घोषणा गरिएको छ। अस्त्र फिल्म्सको प्रस्तुती रहने सिनेमाको मुख्य भूमिकामा सौगात मल्ल छन्। प्रकाश कर्णको लेखन तथा निर्देशन रहने सिनेमाको स्क्रिनप्ले तथा राइटर वर्षा पौडेल हुन्। क्रिएटिभ प्रोडुसरमा निर्देशक कर्ण र राइटर वर्षा दुवै रहेका छन्।
सिनेमामा नायिकाको रुपमा सोफी धरेल डेब्यु गर्ने भएकी छन्। सौगात र सोफीसँगै मुख्य भूमिकामा रहेका अर्का कलाकार सुधन पोखरेल हुन्। उनको यो तेस्रो सिनेमा हो। यसअघि दुईवटा सिनेमामा काम गरिसकेका छन्, तर रिलिज हुन भने बाँकी छ। मुख्य भूमिकामा भने उनको यो पहिलो सिनेमा हो।
रक क्यास्टर स्टुडियोको निर्माण रहने सिनेमाको घोषणासँगै तीनवटा क्यारेक्टर पोस्टर पनि सार्वजनिक गरिएको छ।
एउटा पोस्टरमा सौगात मल्ल मात्रै छन्। उनी क्यामेरा अगाडि नमस्ते गर्दै उभिएका छन्। उनको लुक्स, गेटअप र ढोगाइले उनी अभिनेता भएको संकेत गर्छ।
अर्को पोस्टरमा उनी P.C.O. मा उभिएर फोनमा कुरा गरिरहेका छन्। ल्यान्डलाइन फोन र उनका र सोफीको गेटअपले सिनेमाले दुई दशक अगाडिको कथा भन्न लागेको संकेत गरेको छ। सोफी केही रिसाइरहेकी छिन् भने गम्भीर मुद्रामा सौगात फोनमा कुरा गरिरहेका छन्।
अर्को पोस्टरमा सुधन, जो खलपात्रमा छन्। चुरोट तानिरहेको उनको लुक्सले उनी खतरनाक भिलेनको भूमिकामा रहेको प्रष्ट पारेको छ।
सिनेमाको कथा, अन्य कलाकार तथा अन्य पक्षबारे निर्माण टिमले अझै केही खुलाएको छैन। पोस्टर हेर्नुहोस :


