सिनेसुत्र, बिराटनगर- एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत र लाइभ इन्टरटेन्मेन्ट विराटनगरद्वारा आयोजना हुने ‘बिराटनगर म्युजिकल फेस्टिभल २०८२’ आउँदो असोज ३१ गते शुक्रबार विराटनगरको मेनरोडस्थित जैन भवनको खुला मैदानमा भव्य रूपमा आयोजना हुने भएको छ। यसबारे आयोजकले नेपाल पत्रकार महासंघ मोरङ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्। यो फेस्टिभलको चौथो संस्करण हो।

यसअघि तीन पटकसम्म सफलतापूर्वक सम्पन्न भइसकेको बिराटनगर म्युजिकल फेस्टिभल हरेक वर्ष दशैं, तिहार र छठ पर्वको अवसरमा आयोजना हुँदै आएको छ। यस सांगीतिक कार्यक्रममा दर्शकलाई मनोरञ्जनका साथै सामाजिक सद्भाव र सांस्कृतिक एकता बढाउने उद्देश्य रहेको आयोजकको भनाइ छ।
यस वर्षको संस्करणमा राष्ट्रिय स्तरका चर्चित कलाकार र ब्याण्डहरूले प्रस्तुति दिनेछन्। कार्यक्रममा अहिलेका चर्चित दुइ ब्याण्ड स्वर र पूर्ण राई एण्ड दाजुभाइहरू मुख्य आकर्षणका रूपमा रहनेछन् भने विराटनगरकै लोकप्रिय दि स्मृति ब्याण्डले आफ्नो २५औँ वार्षिकोत्सवको विशेष प्रस्तुति दिनेछ। साथै, शुभम एण्ड द ब्याण्डको सांगितिक प्रस्तुति र विराटनगरका स्थानीय डान्स क्लबहरूका आकर्षक नृत्य पनि रहनेछन्।
कार्यक्रमलाई अझ आकर्षक र मनोरञ्जनपूर्ण बनाउन फूड स्टल, स्पोन्सर कम्पनीका डिस्प्ले स्टलहरू र अन्तर्राष्ट्रिय स्तरको DB टेक्नोलोजी साउन्ड सिस्टम, लाइट, स्टेज र स्क्रिनको व्यवस्था गरिएको आयोजकले बताएका छन्। हाल कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र यसलाई भव्य बनाउन सम्पूर्ण टिम जुटिरहेको संयोजक सन्तोष महत (स्यान्ट्रो) ले बताएका छन्।
करीब रु. २० लाख लागत अनुमानित यस कार्यक्रमको खर्च विज्ञापनदाता कम्पनी, सहयोगी संघ–संस्था र व्यक्तिगत सहयोगबाट जुटाइनेछ। कार्यक्रमको शान्ति सुरक्षाका लागि मोरङ जिल्ला प्रशासन कार्यालयको स्वीकृति सहित नेपाल प्रहरी, स्थानीय सुरक्षा गार्ड र स्वयंसेवकहरूको टोली परिचालन गरिनेछ।
कार्यक्रमकी उद्घोषकका रूपमा काठमाडौँकी मिस अनु मानन्धर रहनेछिन्। प्रवेशका लागि साधारण टिकट प्रि-सेल मूल्य रु. ३०० र भि-आइपी टिकट रु. १००० (सिमित सिट) निर्धारण गरिएको छ। साथै, खल्ती वालेटमार्फत अनलाइन टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ।
संयोजक महतका अनुसार, बिराटनगर म्युजिकल फेस्टिभल अब केवल एक कार्यक्रम होइन, यो शहरको पहिचान बनेको छ। यो फेस्टिभलले सांगीतिक ऊर्जा र सामुदायिक एकता दुबैलाई एकसाथ जोड्ने उद्देश्य राख्छ’ उनले बताए।
