सिनेसुत्र, बिराटनगर- नयाँ सिनेमा ‘ककाकिकी’ को छायांकन आज (बिहीबार) बिहान शुभमुर्हुत गर्दै सुरु भएको छ। निर्माण टिमले ३५ दिने छायांकन तालिका तय गरी पर्वतको भूकदेउराली बाट पहिलो दृश्यको छायांकन सुरु गरेको हो।
अबको २० दिनसम्म पर्वतमा गाउँको परिवेशका दृश्यहरू खिचिनेछन् भने त्यसपछि काठमाडौंमा छायांकन हुने निर्देशक विक्की अगरवालले जानकारी दिएका छन्। हाल छायांकनमा सिनेमा ‘ककाकिकी’ का अधिकांश कलाकारहरू उपस्थित छन्।
अभिनेत्री तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकार अहिले छायांकनस्थलमा छन्। अभिनेत्री गौरी मल्ल केहि दिनमा छायांकन स्थलमा सहभागी हुने निर्देशन सहायक श्रृद्धा प्रसाईंले जानकारी दिइन्।
सिनेमा ‘ककाकिकी’ चर्चित हास्य शो ‘कमेडी दरबार’ टिमले निर्माण गर्दैछ। निर्देशन विक्की अगरवाल र श्रृद्धा सँगै गर्नेछन्। लेखकमा विक्की, विकास अर्याल र सरोज भण्डारी छन् भने स्क्रिनप्ले विक्कीकै रहेको छ। विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरका रूपमा रहेका छन् भने सहायक निर्देशन अनिश बुढाथोकी र डिओपी को जिम्मा सुदिप बरालले सम्हालेका छन्।
निर्माण टिमले यसअघि साउनको दोस्रो हप्तामा सिनेमा पोस्टर सार्वजनिक गर्दै औपचारिक घोषणा गरेको थियो। पोस्टरमा रेखा थापा, गौरी मल्ल, तृप्ती नाडकर र महेश त्रिपाठी लाई अनौठो अवतारमा देखाइएको थियो, जसले सिनेमा कथा रहस्यमय रहेको संकेत दिएको छ।
सिनेमा ‘ककाकिकी’को डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय सर्वाधिकार सेभेन सिज् इन्टरनेशनलसँग रहेको छ।













