सिनेसुत्र, बिराटनगर- आगामी वैशाख २५ गते (मे ८) देखि देशभरका हलमा प्रदर्शनमा आउने तयारीमा रहेको प्रतीक्षित नेपाली सिनेमा ‘मालती मंगले’को आधिकारिक टिजर आज सार्वजनिक गरिएको छ। गायक रामकृष्ण ढकालको निर्माण तथा प्रस्तुति रहेको यस सिनेमाको टिजरले गाउँले परिवेशमा आधारित एउटा रोचक र मार्मिक प्रेमकथाको झल्को दिएको छ। केही वर्ष पुरानो ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको यस टिजरमा प्रेम, विश्वास र शङ्काका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ।
ओएसआर डिजिटलमा सार्वजनिक टिजरमा विजय बराल र वर्षा राउतको भेटदेखि विवाहसम्मको यात्रालाई देखाइएको छ। एउटा संवादमा विजयले वर्षासँग ‘मेरो कारणले जुन दिन तिम्रो आँखामा आँसु आउँछ, त्यो दिन मंगले मरेसरह हुन्छ’ भन्दै गरेको प्रेममय वाचा सुनिन्छ। तर, विवाहपछिको जीवन भने त्यति सहज देखिँदैन।
टिजरको उत्तरार्धमा गाउँलेहरूको अगाडि विजयले वर्षालाई कुटपिट गर्दै ‘तैँले मलाई धोका दिइस्’ भन्दै आक्रोश पोखेका छन्, जसमा मालती (वर्षा) निकै अचम्मित र भावुक मुद्रामा देखिएकी छिन्। अर्का मुख्य कलाकार मेक्सम गौडेलले विजयलाई गाली गर्दै गरेको दृश्यले कथामा द्वन्द्वको सङ्केत गर्दछ, यद्यपि टिजरको अन्त्यमा दुई पात्रबिच केही रोमान्टिक दृश्यहरू पनि समेटिएका छन्।
प्रकु पाण्डेयको निर्देशनमा तयार भएको यस सिनेमालाई रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। सिनेमाको कथा स्वयं निर्देशक पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईँको रहेको छ। यसअघि सिनेमाको दुई गीत ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेका छन्। निर्माता ढकालका अनुसार यो सिनेमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको गीतिनाटक नभई हाम्रै समाजको परिवेशमा आधारित एक फरक साङ्गीतिक प्रेमकथा हो।
सिनेमामा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको अभिनय रहेको छ। सिनेमाका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह-निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन्।
प्राविधिक पक्षमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ। गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको छ भने भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका हुन्। सिनेमा आरआर फिल्म्सले वितरण गर्नेछ। टिजर हेर्नुहोस :