सिनेसुत्र, बिराटनगर- वरिष्ठ कलाकार तथा निर्देशक निर शाह निर्देशित सिनेमा ‘कमला मिस’को टिजर सार्वजनिक गरिएको छ । मनोवैज्ञानिक कथावस्तुमा आधारित सिनेमाको टिजरले दर्शकमाझ उत्सुकता बढाएको छ ।
साहित्यकार तथा नाटककार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’बाट प्रभावित सिनेमा ‘कमला मिस’को टिजरमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई केन्द्रमा राखिएको छ । टिजरले रहस्य, मनोवैज्ञानिक द्वन्द्व र भावनात्मक पक्षलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ ।
करिब एक दशकपछि निर्देशनमा फर्किएका निर शाहले यस सिनेमामार्फत फरक स्वादको कथा प्रस्तुत गर्ने प्रयास गरेका छन् । यसअघि उनले वासुदेव, पच्चीस बसन्त, राजमती, वसन्ती, मसान र सेतोबाघ जस्ता चर्चित सिनेमा निर्देशन गरिसकेका छन् ।
सिनेमामा निर शाहसँगै रमेश बुढाथोकी, बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र संजय खतिवडालगायत कलाकारहरूको अभिनय रहेको छ ।
सिनेमालाई विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको हो । उमेश मल्ल, चैतन्य प्रधान, रमेश बाबु श्रेष्ठ र राम भट्टराई ‘कमला मिस’का कार्यकारी निर्माता हुन् । सिनेमाका लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) रहेका छन् ।
सिनेमाको कथा विजय मल्लको हो भने पटकथा तथा संवाद निर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका छन् । सिनेमामा शिवराम श्रेष्ठको छायांकन, युग भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । निर्माण व्यवस्थापन भोला सुवेदीले सम्हालेका छन् भने मुख्य सहायक निर्देशक सगर बोहरा हुन् । ‘कमला मिस’ आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ । सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन् । टिजर हेर्नुहोस :