प्रदीप र सनिशाको ‘शुभ विवाह’ सुदर्शनले ३ दिनका लागि स्थगित

0 Shares

सिनेसुत्र, बिराटनगर- सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको बहुप्रतीक्षित सिनेमा ‘शुभ विवाह’को छायांकन स्थगित भएको छ। निर्माण पक्षले एक विज्ञप्ति जारी गर्दै लगातार भइरहेको भारी वर्षा र प्रतिकूल मौसमका कारण सिनेमाको छायांकन तीन दिनका लागि स्थगित गरिएको जनाएको हो।

मौसममा आएको खराबी तथा सरकारले जारी गरेको उच्च सतर्कता सम्बन्धी सूचनालाई मध्यनजर गर्दै असोज ९, १० र ११ गतेका लागि छायांकन रोक्ने निर्णय गरिएको हो। कलाकार तथा सम्पूर्ण प्राविधिक टोलीको जीउधनको सुरक्षा र सहजतालाई पहिलो प्राथमिकतामा राखेर यो निर्णय लिइएको विज्ञप्तिमा उल्लेख छ।

निर्माता सुप्रिया कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कठिन परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सतर्क र सुरक्षित रहन हार्दिक अनुरोध गर्दछौँ। सुरक्षा नै पहिलो प्राथमिकता हो।४५ दिनको सेड्युलसहित पोखराबाट सुटिङ सुरु गरिएको यस सिनेमाको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ। गीत बाहेक सिनेमाका प्रायः सबै दृश्यको छायांकन सकिसकेको निर्देशक सुदर्शन थापाले जानकारी दिए। बाँकी रहेका गीतहरूको सुटिङ पनि अबको १० दिनभित्र सकिने निर्माण टिमले जनाएको छ।

नेपाली सिनेमा क्षेत्रको सुपरहिट सिनेमा ‘प्रेम गीत’ पछि निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काबिच लामो समयपछि यसै सिनेमामार्फत पुनर्मिलन भएको हो। रोमान्टिक कथावस्तुमा आधारित यस सिनेमामा प्रदीप खड्का र सनिशा भट्टराईको मुख्य भूमिका रहेको छ।

सिनेमामा उनीहरूसँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुंगाना, विशाल पहारी, अंशु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्य लगायतको अभिनय देख्न सकिनेछ।

प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण भइरहेको यस सिनेमाका कार्यकारी निर्माता साम भुजेल हुन्। प्रदीप श्रीवास्तवको कथा रहेको सिनेमाको पटकथा तथा संवाद रामशरण पाठकले तयार पारेका हुन्।

सिनेमामा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन (डीओपी), मिलन श्रेष्ठको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, विक्रम स्वारको नृत्य निर्देशन, सुशीला के.सि. र आकृति पन्तको ड्रेस डिजाइन र साहिल खानको ट्रेलर सम्पादन रहनेछ। विराज ढुंगाना कानुनी सल्लाहकार रहेको यस सिनेमाको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल हो भने वितरण भीष्म फिल्म्स् र श्री राम बालाजीले गर्नेछन्। सिनेमा आगामी फागुन २१ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ। 

सम्बन्धित समाचारसबै