सिनेसुत्र, बिराटनगर- सिनेमा ‘ककाकिकी’को ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। ट्रेलर सार्वजनिक भएको पाँच दिनमै युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ। युट्युबसँगै फेसबुकलगायत अन्य सामाजिक सञ्जालमा पनि ट्रेलरले राम्रो चर्चा पाइरहेको छ। ट्रेलरमा आएका सयौँ प्रतिक्रियामध्ये अधिकांशले यसको प्रस्तुति, दृश्य संयोजन र कथावस्तुको प्रशंसा गरेका छन्। दर्शकले ट्रेलर हेरेपछि सिनेमा प्रदर्शनको प्रतीक्षा गरिरहेको प्रतिक्रिया दिएका छन्।
एक युट्युब प्रयोगकर्ताले लेखेका छन्, ‘यो एकदमै अनौठो र साँच्चै सिनेम्याटिक देखिन्छ। बिक्की र उनको टिमबाट यस्तै उत्कृष्ट कामको अपेक्षा थियो। त्यस्तै, अर्का दर्शकले ट्रेलरको प्रस्तुतिलाई नौलो भन्दै लेखेका छन्, ‘ट्रेलर प्रस्तुत गर्ने तरिका एकदमै नयाँ छ। यस्तो त विदेशी सिनेमाहरूमा मात्र देखेको थिएँ। सिनेमाका लागि निकै उत्साहित छु।’
यस्ता प्रतिक्रियाले सिनेमाको ट्रेलरले दर्शकमाझ छुट्टै उत्सुकता सिर्जना गरेको देखाउँछ। विशेषगरी निर्देशक बिक्की अग्रवालले ट्रेलर निर्माणमै फरक शैली र प्रयोग गरेको देखिन्छ। परम्परागत ट्रेलरभन्दा केही फरक प्रस्तुति भएकाले पनि दर्शकको ध्यान आकर्षित गर्न सफल भएको अनुमान गर्न सकिन्छ।
साथै, ट्रेलर नेपालको युट्युब मुभी ट्रेन्डिङ चार्टको तेस्रो नम्बरमा आउन सफल भएको छ। ट्रेन्डिङको पहिलो नम्बरमा बलिउड सिनेमा ‘मातृभूमि’को ट्रेलर छ भने दोस्रोमा नेपाली सिनेमा ‘बाटुलो जून’को ट्रेलर रहेको छ।
सिनेमा ‘ककाकिकी’मा तृप्ति नाडकर, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी, शिशिर वाङ्देल, दिया मास्के, मनोज गजुरेल, प्रकाश घिमिरे, माउत्से गुरुङ, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), मुकुन्द मैनाली, रामबाबु रेग्मी, सीडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बीटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटालगायत कलाकारको अभिनय रहेको छ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको निर्देशनमा बनेको सिनेमाका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको सिनेमाको लेखन बिक्की अग्रवाल, विकास अर्याल र सरोज भण्डारीले गरेका हुन् भने विश्वास तिमल्सिना (बीटी कान्छा)ले स्क्रिप्ट डक्टरको जिम्मेवारी सम्हालेका छन्।
सिनेमाको छायाङ्कन सुदीप बरालले गरेका हुन्। मुख्य सहायक निर्देशक अनिश बुढाथोकी र सहायक निर्देशक विशाल राई हुन्। मेकअपमा अनिश तामाङ, कस्ट्युम डिजाइनमा सुमन परियार र प्रोडक्सन हेडमा अरुण रेग्मी रहेका छन्।
सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ भने अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेशनलले लिएको छ। ‘ककाकिकी’ मंसिर ११ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदैछ।