सिनेसुत्र, बिराटनगर- अभिनेत्री अञ्जना बराइलीले सिनेमा ‘सिन्दुरे जात्रा’ कथानक र प्राविधिक रूपमा बलियो सिनेमा भएको बताएकी छन् । नाम सुन्दै आफूलाई सिनेमाले आकर्षित गरेको र कथा पढेपछि समय मिले आफू पनि यसमा जोडिने सोचका साथ अनुबन्धित भएको उनले बताएकी छन् ।
कलाकार, निर्देशक र केही प्राविधिक ‘पूर्ण बहादुरको सारङ्गी’ सिनेमाकै रहे पनि थुप्रै कलाकार, निर्माता र प्राविधिक फरक रहेको भन्दै ‘सिन्दुरे जात्रा’को कथा ‘पूर्ण बहादुरको सारङ्गी’सँग नमिल्ने र त्यसको सिक्वेल पनि नरहेको उनको दाबी छ ।
‘सिन्दुरे जात्रा’ महिलाको कथामा आधारित सिनेमा रहेको उनले बताइन् । महिलालाई आजसम्म आइपुग्दा नेपाली समाजले कसरी हेर्छ भन्ने कथा सिनेमामा रहेको उनले प्रस्ट पारेकी छन् । तर, सरोज पौडेलको निर्देशनमा बनेको सिनेमा न्यायाधीश बन्ने प्रयास वा वकालत गर्दै पक्ष-विपक्षमा नदेखिने उनले बताएकी छन् । हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ, अञ्जना भन्छिन्, महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ ।
उनले आफूले सिनेमामा मौन विद्रोह गरेको जानकारी दिएकी छन् । तर, कस्तो विद्रोह हो भन्नेबारे भने उनले प्रस्ट पारेकी छैनन् । सिनेमामा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको सिनेमाको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन् । सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमाका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन् । अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन् ।
दिनेश खड्का कार्यकारी निर्माता रहेको सिनेमामा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन छ । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत रहेको छ । मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने सिनेमाको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन् ।