युरोप जाने एञ्जिलालाई सिनेमा ‘अञ्जिला’ टिमको बिदाइ: सिनेमाको हङकङमा एक हप्तामै टिकट सोल्ड आउट
0
Shares
बिराटनगर, सिनेसुत्र – नेपाली सिनेमा ‘अञ्जिला’की मुख्य अभिनेत्री तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बालाई ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा खेल्नका लागि विशेष सम्मानसहित बिदाइ गरिएको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, र फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहले यो सिनेमालाई ऐतिहासिक प्रयासको रूपमा विश्लेषण गरिन्। उनले भनिन्, “सम्भवतः यो सिनेमा नेपाली महिला खेलाडीको जीवनमा आधारित पहिलो बायोपिक हो। एञ्जिलाको सङ्घर्ष र सफलताको कथा खेलकुद पर्यटनको विकासका लागि पनि प्रेरणा बन्नेछ।”
सिनेमाको वर्ल्ड प्रिमियर मङ्सिर २३ (डिसेम्बर ८) मा हङकङमा हुने जानकारी दिँदै निर्देशक मिलन चाम्सले भने, “हङकङमा टिकट बिक्री एक हप्तामै सोल्ड आउट हुनु दर्शकहरूको चासो र उत्साहलाई देखाउँछ। ‘अञ्जिला’ले नेपाली सिनेमा र खेलकुदलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ।”
हङकङपछि सिनेमाको प्रिमियर जनवरी १८, २०२५ मा अस्ट्रेलिया, जनवरीको अन्त्यतिर जापान, फेब्रुअरी १५ मा युके र मार्च २ मा कोरियामा गरिनेछ। फागुन २९ गतेदेखि नेपालसँगै विश्वभर सिनेमा एकसाथ प्रदर्शन गरिने समारोहमा बताइयो।
प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले एञ्जिलाको संघर्ष र सफलता नेपाली खेलकुद र सिनेमाको लागि प्रेरणादायी रहेको बताए। त्यस्तै, रमा सिंहले यो सिनेमालाई महिला खेलाडीको संघर्षको ऐतिहासिक दस्तावेजका रूपमा उल्लेख गरिन्।
सिनेमाले एञ्जिलाको जीवन संघर्ष र सफलताको कथा प्रस्तुत गर्नेछ, जसमा उनले आफैं प्रमुख भूमिका निभाएकी छिन्। निर्माता प्रेम कुमार श्रेष्ठका अनुसार, सिनेमाबाट प्राप्त आम्दानीले काठमाडौंमा एञ्जिलाको लागि घर निर्माण गरिनेछ, जसलाई फुटबल एकेडेमीमा परिणत गरी खेलकुदमा इच्छुक युवतीहरूलाई सहयोग गर्ने योजना रहेको छ।
पुष ५ गत्ते प्रदर्शनमा आउने सिनेमा “बम बहादुर”को ट्रेलर हेर्नुहोस :