सिनेमा ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा

0 Shares

बिराटनगर, सिनेसुत्र – नेपाली सिनेमा ‘बम बहादुर’ आजबाट नेपालभर प्रदर्शनमा आएको छ। सिनेमाले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको ऐतिहासिक सङ्घर्ष र जीवनका पलहरू पर्दामा उतारेको छ।

१९८० को दशकका घटनामा आधारित यो सिनेमा त्यतिबेलाको सामाजिक र राजनीतिक पृष्ठभूमिलाई चित्रण गर्दै भारतीय नेपाली समुदायले भोगेको सङ्घर्षलाई सजीव रूपमा प्रस्तुत गर्न निर्मित हो। निर्देशक जोन राईका अनुसार यो सिनेमा भारतका नेपाली समुदायको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा संरक्षित गर्ने उद्देश्यले निर्माण गरिएको हो।

बिस्ट ब्रदर्स फिल्म्स प्रा.लि.को निर्माणमा बनेको सिनेमाका निर्माता सञ्जीव सार्कीले आजका र भोलिका पुस्ताले आफ्नो इतिहास बिर्सिन नहुने उद्देश्यले निर्माण गरिएको बताए।
सिनेमामा सौगात मल्लको प्रमुख भूमिका छ। साथै, प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिष्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, र धीरज चाम्लिङलगायतको अभिनय छ।

सिनेमाको कथा र पटकथा जोन राई र रुपेश तामाङले लेखेका हुन्। छायाङ्कन सुजोय कुमार घोष ‘मुन्ना’ले गरेका छन् भने सम्पादन ज्ञान गुरुङले गरेका छन्। दीपङ्कर सिंह मुखियाको सङ्गीत र गीत रहेको सिनेमाको म्युजिक एरेन्जमेन्ट तथा ब्याकग्राउन्ड स्कोर इजाज अलीले तयार पारेका हुन्।

लाइन प्रोड्युसर प्रकाश हमाल, कलरिस्ट कुनाल कुँवर, साउन्ड मिक्सर मुकेश शाह हुन्। सिनेमाको वितरण रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गरेका छन्। पोस्ट-प्रोडक्शन नेपालमा क्लासिक सिने युनिभर्स र भारतमा हिलिङ अक्टेभ्ज स्टुडियोमा गरिएको हो।

निर्देशक राईका अनुसार, यो सिनेमा नेपाली समुदायको ऐतिहासिक र सांस्कृतिक महत्वलाई बुझेका दर्शकहरूका लागि मात्र होइन, भारत र नेपालका युवा पुस्तालाई आफ्नो पहिचान र इतिहासबारे जानकारी दिन पनि महत्त्वपूर्ण छ। सिनेमाले नेपाली समुदायको संघर्ष र पहिचानको कथा सम्झनामा सुरक्षित राख्ने उद्देश्य बोकेको छ।

 

सम्बन्धित समाचारसबै