सिनेसुत्र, बिराटनगर- चर्चित सिरियल ‘सक्किगोनी’ टिमको सिनेमा ‘लाज शरणम्’को पोस्टरले अहिले दर्शकहरूलाई उत्साहित बनाएको छ। हालै सार्वजनिक गरिएको नयाँ पोस्टरले सिनेमाका नयाँ क्यारेक्टरहरूलाई रिविल गर्दै नयाँ पोस्टर सार्वजनिक गरेको छ।
पोस्टरमा सिनेमाका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअप चर्चामा छ। नेताको भूमिकामा रहेका कट्टेललाई दोरा-सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ।
उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको अनुमान गरिएको छ। साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले सिनेमाको गहिरो कथावस्तु झल्काएको छ।
‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको सिनेमा हो। यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन्।
सिनेमाको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन्। यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत छन्।
जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन्। सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन्।
‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएको छ। यो सिनेमालाई यस वर्षकै प्रतिक्षित फिल्ममध्ये एक मानिएको छ।


