सिनेसुत्र, बिराटनगर- यही फागुन २९ गते रिलिजको तयारीमा रहेको नेपाली सिनेमा ‘अञ्जिला’को शुक्रवार सार्वजनिक गरिएको ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको सिनेमा सेक्सनको दोस्रो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दासम्म करिब ८ लाख भ्युज रहेको ट्रेलरले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।
ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । दर्शकहरूले एन्जिलालाई आफ्नै वास्तविक कथामा बनेको सिनेमामा अभिनेत्रीको रूपमा समेत आफैँले निभाएको भूमिकामा अभिनयको प्रशंसा गरेका छन् ।
युट्युबमा ट्रेलर हेरेपछि धेरै दर्शकहरूले भावुक भएको प्रतिक्रिया जनाएका छन् । यस सिनेमाले नेपाली चेलीहरूको कथालाई प्रतिनिधित्व गरेको र यसले नेपाली खेलाडीहरूलाई मात्र नभई यस्तै सङ्घर्षबाट गुज्रिरहेका कैयन नेपाली चेलीहरूलाई समेत प्रोत्साहन गर्ने विश्वास दर्शकहरूले व्यक्त गरेका छन् । देशको नाम राख्न गौरवपूर्ण काम गर्ने खेलाडीको कथामा बनेको यस सिनेमालाई सबैले हेरी सफल बनाउन आह्वान भएका प्रतिक्रियाहरू समेत युट्युबमा प्राप्त छन् ।
यस सिनेमाका निर्देशक मिलन चाम्सले सिनेमा ‘अञ्जिला’को ट्रेलरलाई प्राप्त दर्शकको माया र प्रतिक्रियाको लागि आभार व्यक्त गरे । उनले युट्युबको ट्रेन्डिङमा दोस्रो स्थानमा पुगेकोमा खुसी व्यक्त गर्दै, सिनेमालाई पनि यसरी नै माया गर्न दर्शकहरूलाई आग्रह गरेका छन् । चाम्सले विशेष गरी खेल प्रेमी र खेलाडीहरूलाई यो सिनेमा हेर्न अनुरोध गरेका छन् ।
“यो खेलाडीको कथामा बनेको सिनेमा हो । अन्य दर्शकहरूले त हेरिहाल्नु हुन्छ, खेल प्रेमी र खेलाडीहरू प्रति मेरो विनम्र आग्रह छ कि यो सिनेमा हामीले सफल गराउन सकियो भने आगामी दिनमा खेलसम्बन्धी सिनेमाहरू बनाउन नेपाली सिनेमा निर्माताहरूले लगानी गर्नेछन्,” चाम्सले बताए ।
यस सिनेमामा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । सिनेमाको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । सिनेमाको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् ।
ट्रेलर हेर्नुहोस :