सिनेसुत्र, बिराटनगर- कथाकार गुरुप्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने सिनेमा ‘परालको आगो’मा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्। सिनेमा निर्माण कम्पनी हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेलले प्रकाशलाई सिनेमामा अनुबन्ध गरेका हुन्। मैनाली कथा पुरस्कार ट्रस्टले हरिओम सिने मेकर्स निर्माता कम्पनीलाई सिनेमा निर्माणको मञ्जुरी दिइसकेको छ। ‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ।
निर्माता पोखरेलका अनुसार प्रकाश सिनेमाका प्रमुख दुई पात्रमध्ये एक हुन्। यसअघि प्रमुख कलाकारका रूपमा जितु नेपाल र सुहाना थापा अनुबन्धित भइसकेका छन्। निर्माता पोखरेलले चामे, गौंथली र जुठे दमाईको वरिपरि घुम्ने कथामा जितु र प्रकाशको क्यारेक्टर चामे र जुठे दमाईमध्ये कुन भन्ने चाहिँ अहिले सस्पेन्समा नै राखेको बताए।
सिनेमामा सुशील देवकोटाको लेखन, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ। सिनेमाका निर्माण नियन्त्रण नगेन्द्र घिमिरे हुन्।
निर्माता पोखरेलका अनुसार सिनेमाको प्रदर्शन २०८२ मा हुनेछ। यो नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले सिनेमा निर्माण गरेका थिए।
निर्माता पोखरेलले यसपटक लोकेसन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले सिनेमामा प्रस्तुत गर्न लागेको बताए। सिनेमामा निर्देशक लक्ष्मण सुनारको निर्देशन रहने छ। कथा ‘परालको आगो’ मा दुई पात्र चामे र गौँथलीको झैँझगडालाई प्रस्तुत गरिएको छ। निर्माता पोखरेलले यसअघि सिनेमाहरू ‘मैदान’, ‘जीवनदाता’, ‘निगरानी’, ‘जय शिव शंकर’, ‘लभ सभ’, ‘राधे’ र ‘यात्रा’ निर्माण गरिसकेका छन् ।





