थिम पोस्टरसहित यामले गरे ‘मिरमिरे’ निर्माणको घोषणा

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘कार्साङ’ फेम्ड निर्देशक याम शेर्पाले नयाँ सिनेमा निर्माणको घोषणा गरेका छन्। उनले सिनेमा ‘मिरमिरे’ निर्माणको घोषणा गरेका हुन्। शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष सिनेमा रिलिजको घोषणा समेत गरेका छन्।

यार्सा फिल्म्सको प्रस्तुति रहने सिनेमा ले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ। थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र छन्। उनीहरू मिरमिरे बिहानीमा सूर्यको कलिलो किरणको स्पर्शमा उभिएर सूर्यतर्फ फर्किरहेका छन्।

सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर केही नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ। पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरेको संकेत गरे पनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रष्ट पारिएको छैन।सिनेमाको निर्देशन याम शेर्पाले गर्नेछन्। सिनेमा को कथा पनि निर्देशक स्वयंले लेख्नेछन्। निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने सिनेमा लाई आरआर फिल्म्सले वितरण गर्नेछ।

नयाँ वर्ष २०८२ मा रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने तय भएको छैन। कलाकारबारे निर्माणपक्षले जानकारी दिएको छैन। केही समयपछि सिनेमा मा कोको कलाकार रहने जानकारी दिँदै जाने निर्देशक शेर्पाले बताए।

“हाम्रो सिनेमा सामाजिक विषयवस्तुमा आधारित रहेर बन्नेछ,” निर्देशक शेर्पाले भने, “कोको कलाकार रहने हामी विस्तारै जानकारी दिँदै जानेछौँ।” शेर्पाले ‘कार्साङ’मा भएका कमिकमजोरीबाट पाठ सिक्दै दर्शकले खोजे र चाहेजस्तै सिनेमा बनाउने प्रतिबद्धता जनाएका छन्। उनले ‘कार्साङ’मा जस्तै ‘मिरमिरे’मा पनि दर्शकको साथ रहने अपेक्षा गरेका बताए।

सम्बन्धित समाचारसबै