सिनेसुत्र, बिराटनगर-हाल प्रदर्शनरत नेपाली सिनेमा ‘महाभोज’ ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनले मङ्गलवार साँझ काठमाडौँको सुनधारास्थित क्युएफएक्स सिनेमा हलमा सिनेमा हेरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
शाहीले ‘महाभोज’ ले कुनै व्यक्तिलाई लक्षित नगरी सहकारीमा कसरी ठगी हुन्छ भन्ने समग्र पक्षलाई उजागर गरेको बताए । उनले सहकारीको स्थापना राम्रो उद्देश्यका लागि भए पनि त्यसको दुरुपयोग भइरहेको यथार्थ सिनेमामा देखाइएको उल्लेख गरे । “निर्देशकले जोखिम मोलेर यो कथा उठाउने हिम्मत गर्नुभएको छ, अब यसले हामीलाई फेरि पनि संसदमा बोल्न बाध्य बनाएको छ,” शाहीले भने ।
उनले यसअघि पनि संसदीय समिति गठन गरी केहीलाई मात्र नभई सबैलाई छानबिन गर्नुपर्ने माग गरिएकाले यो देशैभरिको समस्या भएको दोहोर्याए । शाहीको भनाइ छ, “कि त ऐन ल्याउनुपर्यो, कि त छानबिन हुनुपर्यो । अब फेरी संसदमा आवाज उठ्नेछ ।”
शुक्रवार रिलिज भएको ‘महाभोज’ ले दर्शकहरूबाट अभूतपूर्व सकारात्मक प्रतिक्रिया पाइरहेको छ । सिनेमा हेरेर हलबाट निस्कने दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै यसलाई ‘हेर्नै पर्ने’ सिनेमाको संज्ञा दिएका छन् । सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकहरूले यसको प्रशंसा गरेका छन् । समीक्षकहरूले पनि यसको पटकथा, निर्देशन र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।
मङ्गलवार साँझ नै कलाकारहरू अनुभव रेग्मी, सलोन बस्नेत, गजित बिस्ट, निर्देशक शोभित बस्नेत, कोरियोग्राफर गम्भीर बिस्ट लगायतले पनि ‘महाभोज’ हेरेर यो सिनेमा नेपालका राजनीतिक दलका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणले नछुटाई हेर्नुपर्ने विषयमा बनेको बताएका छन् । सिनेमा हेरेपछि उनीहरूले ‘महाभोज’ ले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको उच्च प्रशंसा गरे ।
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको ‘महाभोज’ क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको यस सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यो सिनेमा ले नेपाली राजनीतिक वृत्तमा पनि थप बहस सिर्जना गर्ने देखिएको छ ।