यम शेर्पाको ‘मिरमिरे’को वर्कसप सुरु : दयाहाङ र प्रकाश सपूत पहिलोपटक सँगै

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘मिरमिरे’को वर्कसप औपचारिक रूपमा सुरु भएको छ। यस सिनेमामा मुख्य भूमिकामा लोकप्रिय अभिनेता दयाहाङ राई र चर्चित गायक तथा अभिनेता प्रकाश सपूत रहेका छन्।

निर्देशक यम शेर्पाका अनुसार, आइतबारदेखि सिनेमा का मुख्य कलाकारहरूसहित वर्कसप सुरु गरिएको हो। शेर्पाले वर्कसपको उद्देश्यबारे स्पष्ट पार्दै भने, “छायाङ्कनका क्रममा सहजता होस्, कलाकारहरूलाई कथा र आफ्नो भूमिकाबारे राम्रोसँग बुझ्न सहयोग पुगोस्, र उनीहरूबीचको तालमेल अझ राम्रो होस् भन्ने उद्देश्यले हामीले यो वर्कसप सुरु गरेका हौँ। यसले हामीलाई सिनेमा को छायाङ्कन छिटो सम्पन्न गर्न थप मद्दत पुग्नेछ।” हाल कान्तिपुर फिल्म एकेडेमीमा वर्कसप चलिरहेको ‘मिरमिरे’ को छायाङ्कन आउँदो शुक्रवारबाट सुरु हुनेछ। सिनेमा को अधिकांश दृश्य काभ्रे जिल्लामा खिचिने जनाइएको छ।

विशेष गरी, यो सिनेमामार्फत दयाहाङ राई र प्रकाश सपूतले पहिलो पटक सँगै काम गर्दैछन्। यता, निर्देशक यम शेर्पाले भने दयाहाङसँग दोस्रो पटक सहकार्य गर्न लागेका हुन्। यसअघि शेर्पाको निर्देशनमा बनेको पहिलो सिनेमा ‘कार्साङ’ मा पनि दयाहाङले अभिनय गरेका थिए।

यार्सा फिल्म्सको प्रस्तुति रहेको यस सिनेमामा दयाहाङ राई र प्रकाश सपूतका साथै अभिनेत्री सिर्जना निङलेखु र अभिनेता माओत्से गुरुङ को पनि अभिनय रहनेछ।

सम्बन्धित समाचारसबै