सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा उद्योगमा पछिल्लो समय नयाँ सिनेमा निर्माणको क्रम तीव्र रूपमा बढिरहेको छ। लगभग दैनिक रूपमा नयाँ नयाँ सिनेमाको घोषणा भइरहेका बेला, निर्देशक राजेन्द्र बस्नेतको निर्देशनमा बन्ने नयाँ कमेडी जनराको सिनेमा ‘किस्ने कहाँ छ ?’ को औपचारिक घोषणा गरिएको छ।
थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको घोषणा गरिएको हो। थिम पोस्टरमा एउटा गाडी हिलो बाटोमा रोकिएर बाटोमा काम गर्दै गरेको मान्छेसँग कुरा गरिरहेको दृश्य देख्न सकिन्छ।
सिनेमाको कथा, पटकथा र संवाद लेखक विनय राज पौडेलले तयार पारेका छन्। ग्रीन प्यारोट्स फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुने यस सिनेमामा हेमन्त बस्नेतको लगानी रहेको छ भने, कार्यकारी निर्माता इश्वर वल्लव उप्रेती रहेका छन्।
निर्देशक बस्नेतका अनुसार सिनेमाको छायांकन छिट्टै सुरु हुनेछ। कलाकारहरूको टुंगो भने अझै लागेको छैन, कलाकार छनोटको कार्य भइरहेको निर्माण टिमले जनाएको छ।
कमेडी जनरामा आधारित ‘किस्ने कहाँ छ ?’ ले नेपाली समाजको गहिरो चित्रण गर्ने अपेक्षा गरिएको छ। यो सिनेमा पनि नेपाली सिनेमाले पछिल्लो समय लिएको कमेडी धारलाई अगाडि बढाउने विश्वास गरिएको छ।
