सिनेसुत्र, बिराटनगर- नेपालमा ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन’ जस्ता सफल हास्य कार्यक्रमहरू उत्पादन गर्दै आएका सञ्चारकर्मी, निर्माता तथा निर्देशक विशाल भण्डारीले आफूमाथि गम्भीर आर्थिक अन्याय भएको भन्दै सार्वजनिक रूपमा न्यायको अपिल गरेका छन्। दशकभन्दा बढी समयदेखि नेपाली दर्शकहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै आएका भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू अन्यायमा परेको र एक एनआरएन भनिने व्यक्तिले आफ्नो कम्पनीलाई धराशायी बनाउन खोजेको आरोप लगाएका छन्।
भण्डारीका अनुसार, करिब १८/१९ महिनाअघि एक एनआरएन दाबी गर्ने व्यक्तिले उनको कम्पनी Three Production Pvt. Ltd. मा ३.५ करोड लगानी गरी ३०% शेयर खरिद गर्ने प्रस्तावसहित प्रवेश गरेका थिए। उनीहरूबीच भएको करारमा २४ महिनासम्म लगानी ननिकाल्ने स्पष्ट उल्लेख भएको भण्डारीले बताएका छन्। ‘कमेडी च्याम्पियन सिजन ३’ सञ्चालनका लागि तत्काल १.५ करोड आवश्यक परेको र पछि मुनाफाको हिसाब आएपछि थप रकम पुर्याएर ३.५ करोड पुर्याउने मौखिक सहमति भएको उनको दाबी छ।
कम्पनीको कागजात ती व्यक्तिकै वकिलले शेयर कित्ता बाँडफाँड गरी कम्पनी रजिस्ट्रारको कार्यालयमा अध्यावधिक गराएको र चेकमा भण्डारीको एकल दस्तखत हुने प्रावधान राखिएको थियो। यसका साथै, अनुमानित मुनाफा जोडेर भण्डारीसँग २ करोड १५ लाख रुपैयाँ बराबरको सेक्युरिटी चेक पनि लिइएको थियो।
भण्डारीका अनुसार, ‘कमेडी च्याम्पियन सिजन ३’ सकिनासाथ ती व्यक्तिले सम्झौता विपरीत आफूसँग पैसा माग्न सुरु गरे र उनलाई मानसिक यातना (Torture) दिन थाले। राज्य प्रशासनमा रहेको पहुँचको दुरुपयोग गर्दै ती व्यक्तिले आफ्नै कम्पनीको चेक लगेर भण्डारीविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरी उनलाई दुःख दिएको र दबाबमा राखेर २ करोड ४० लाख रुपैयाँ असुलेको आरोप भण्डारीले लगाएका छन्।
भण्डारीसँग हरेक बैंकिङ कारोबारको प्रमाण रहेको र सबै बैंक टु बैंक भएकोले त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको उनले बताए। तर, बढी गएको पैसा फिर्ता नगर्ने र जसरी पनि आफ्नो चिनजान, सम्बन्ध र शक्तिको दुरुपयोग गर्दै पैसा असुल्न लागेको देखेपछि कम्पनीका अन्य शेयरधनीले विभिन्न मुद्दा हालेर हिसाब मागेका छन्। २.४ करोड रुपैयाँ अपचलनको मुद्दा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनमा विचाराधीन रहेको भण्डारीले जानकारी दिए।
ती व्यक्तिले चेकबापत दाबी गरेको रकम लिएर पनि मिलापत्र गर्न नआएपछि भण्डारीले उनीविरुद्ध आपराधिक लाभको मुद्दा काठमाडौं प्रहरी परिसरमा दर्ता गराएका छन्। ती व्यक्तिले हालेको बैंकिङ कसुरको मुद्दा पैसा लिइसकेपछि पनि मिलापत्र गर्न नआएपछि जिल्ला अदालत पुगेको छ।
भण्डारीले ती व्यक्तिले लगेको २.४ करोड रुपैयाँमध्ये बढी गएको ९० लाख रुपैयाँको नेपाल सरकारको कम्पनी ऐनअन्तर्गत लाग्ने कर तिराएर मिलापत्र गर्ने सल्लाह अन्य शेयरधनीसँगको सहमतिमा भएको बताएका छन्। तर, अझै पनि मिलापत्र गर्न नआउने, आफूहरूलाई अलमल्याएर राख्ने, पैसा पनि लैजाने, मिलापत्र पनि नगर्ने, कम्पनी नछोड्ने र कानूनको कमजोरीको फाइदा उठाउँदै मुद्दाको पेसी पटक-पटक सार्न लगाएर दुःख दिने, काम गर्न नदिने, कार्यक्रम रोक्न मुद्दा हाल्ने, कम्पनीको खाता रोक्न धम्काउने लगायतका गतिविधि गरेर कम्पनीको कार्यसम्पादनमा निरन्तर बाधा पुर्याइरहेको भण्डारीको भनाइ छ।
यसअघि विजेतालाई महिन दिन नबित्दै गाडी उपहार दिने इतिहास रहेको भए पनि सिजन ३ का विजेता कलाकारलाई घोषित पुरस्कार दिन नसकिएको र कतिपय विभागको वेतन पनि बाँकी रहेको भण्डारीले दुखेसो पोखेका छन्। २ लाख रुपैयाँबाट संघर्ष गरेर सुरु भएको कम्पनीको खाताबाट २.४ करोड रुपैयाँ अचानक जाँदा ठूलो समस्या आएको उनले बताए।
भण्डारीले यस विषयमा सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीको सचिवालयमा जानकारी गराएर सहयोग मागेका थिए। तर, त्यो कुरा सचिवालयभन्दा माथि पुग्यो कि पुगेन भन्ने आफूलाई थाहा नभएको र देश बनाउँछु भन्नेलाई आफ्नो मुद्दा सानो लागेको हुन सक्ने उनले उल्लेख गरेका छन्।
उनले आफू र आफ्नो कम्पनीको अस्तित्व संकटमा परेको र यसले १००/११० कर्मचारीको दैनिकी र करियरमा असर पर्ने भन्दै सरकार, कानून र न्यायालयले यसलाई प्राथमिकताका साथ हेर्नुपर्ने माग गरेका छन्। भण्डारीले इमानदारीका साथ कला, सृजना, श्रम र पौरख बेचेर जीविकोपार्जन गर्नेहरूलाई यो देशमा किन दुःख दिइन्छ भन्ने प्रश्न पनि गरेका छन्।
उनले आफू न्यूजील्याण्ड गएर बस्न सक्ने भए पनि कम्पनीका अन्य १०९ जना कर्मचारीको भविष्यको चिन्ताले आफूलाई विचलित हुन नदिएको बताएका छन्। भण्डारीले अन्तमा सरकार र कानून छ भने आफू र आफ्नो टिमलाई न्याय र काम गर्ने वातावरण चाहिएको बताउँदै आफूहरू यसै देशमा बसेर दर्शक हँसाइरहन चाहेको बताएका छन्।
बिशाल भण्डारीको फेश्बुक पोस्ट : https://www.facebook.com/share/p/1AzjbL7TXj/