सिनेसुत्र, बिराटनगर- शुक्रबार अर्थात साउनको २३ गतेबाट रिलिजमा आउन लागेको **सिनेमा ‘मोहर’**को प्रचारप्रसारमा नायक पल शाह दौडिरहेका छन्। नायक शाह सिनेमा प्रचारका क्रममा चितवन पुगेका छन्। चितवनमा आयोजना भएका विभिन्न कार्यक्रममा उनी सहभागी भए। उनले चितवनको म्याङ्गो हल, पर्सामा आयोजित एक कार्यक्रममा दर्शकहरुसँग साक्षात्कार गरे। सिनेमाको गीतमा समेत पल र दर्शक नृत्य गरेका थिए।
नायक शाह र गायक थानेश्वर गौतमले चितवनका दर्शकसँग सिनेमा हेर्न आग्रह गरेका थिए। दर्शकहरुले पनि सिनेमाको ट्रेलर र गीतसंगीतले प्रभावित बनाएको भन्दै आफूहरु ‘मोहर’का लागि उत्साहित भएको प्रतिक्रिया दिएका थिए। पलले दर्शकहरुसँग बसेर ‘मोहर सफलताको केक’ समेत काटेका थिए। चितवनका दर्शकसँग साक्षात्कार गरेका पलले आज पोखरामा आयोजना हुने कार्यक्रममा दर्शकसँग भेटघाट गर्नेछन्।
पोखरामा पनि पलले सिनेमाको गीतमा दर्शकसँग नृत्य गर्नेछन्। फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो सिनेमालाई ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार पारिएको हो। निर्माता चुम्बन जंग शाही हुन्। यसमा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ।
देउकी प्रथाको कथामा आधारित यो सिनेमाको सेन्सर समेत भएको छ। चलचित्र सेन्सर बोर्डले यसलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ। अब यो सिनेमा हेर्नका लागि १६ वर्ष मुनीका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ।
यो सिनेमा प्रचार सामाग्रीले दर्शकको माया पाइरहेका कारण बक्स अफिसमा यसले सुखद ओपनिङ गर्ने विश्वास गरिएको छ।
