सिनेसुत्र, बिराटनगर- अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो ड्रिम प्रोजेक्ट ‘आचार्य’ को छायांकनका लागि भारत प्रस्थान गरेका छन्। मंगलबार निखिलसहितको निर्माण टिम काठमाडौंबाट पश्चिम बंगाल प्रस्थान गरेको हो।
प्राप्त तस्बिरमा निखिलसँगै निर्मात्री एवं अभिनेत्री सञ्चिता लुइँटेल, अभिनेत्री पूर्णिका सिंजापति, छायाकार मनु बिके र मुख्य सहायक निर्देशक सयनम अधिकारी देखिएका छन्। यही भदौ ६ गते (अगस्ट २२) शुक्रबारबाट ‘आचार्य’को छायांकन भारतको प्रसिद्ध स्थान डुअर्सबाट सुरु हुनेछ।
पहिलो चरणको छायांकन डुअर्समा हुने भए पनि सोही सेड्युलमा बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्जमा पनि सुटिङ हुने निखिलले जनाएका छन्। उनका अनुसार दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्डमा र तेस्रो चरणमा भने नेपालमै छायांकन हुनेछ। ६० दिनभित्र सम्पूर्ण छायांकन सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यस सिनेमामा निखिल प्रमुख भूमिकामा रहनेछन् भने अन्य कलाकारमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, विशाल पहारी लगायत रहेका छन्। साथै बलिउड र दक्षिण भारतीय सिनेमामा काम गरिसकेका केही चर्चित कलाकारहरूको पनि अभिनय रहने चर्चा छ। यसबारे प्रश्न गर्दा निखिलले ‘आचार्य’सँग जोडिएका केही सरप्राइज बाँकी रहेको र समयक्रममा बाहिर आउने बताए।
निखिलले ‘आचार्य’लाई विश्वस्तरीय एक्सन सिनेमा हुने दाबी गरेका छन्। यसैमार्फत अभिनेत्री सञ्चिता लुइँटेलले पनि कोरियोग्राफरको रूपमा डेब्यू गर्ने भएकी छन्। नेपाली र हिन्दी भर्सनको एक गीतमा उनले कोरियोग्राफी गर्ने तय भएको छ।
यसअघि २०१५ मा रिलिज भएको सिनेमा ‘भैरव’ बाट निर्देशकीय यात्रा सुरु गरेका निखिलको निर्देशनमा बन्ने यो दोस्रो सिनेमा हो। निखिल नेपाली सिनेमामा ‘एक्सन स्टार’को नामले चिनिँदै आएका छन्।

