सिनेसुत्र, बिराटनगर- यस वर्षको दसैँको फूलपातीको दिन रिलिज हुने नेपाली सिनेमा ‘बलिदान’ ले अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमाका लागि इतिहास रचेको छ। सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो बहुप्रतिक्षित सिनेमा पहिलो पटक अमेरिकाको सबैभन्दा ठुलो सिनेमा चेन एएमसी (AMC) मा प्रदर्शनमा आउन लागेको छ।
योसँगै ‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित देखाइने अपेक्षा गरिएको निर्देशक सेनले बताए। यसअघि कुनै पनि नेपाली सिनेमा एएमसी चेनमा प्रदर्शन नभएको इतिहास तोड्दै ‘बलिदान’ ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएको दाबी सेनले गरे।
एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुनेछ। ‘बलिदान’का यसअघि सार्वजनिक गरिएका पोस्टर तथा टिजरले नै सिनेमाप्रति व्यापक उत्साह जगाएको छ।
यस सिनेमामा समीरका साथै, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ। आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको ‘बलिदान’लाई नेपाली सिनेमाको साहसी कदमको रूपमा लिइएको छ।

