सिनेमा ‘हरिबहादुरको जुत्ता’ भ्रष्टाचार र नेपोटिज्मको सशक्त आवाज हो : हरिवंश आचार्य

0 Shares

सिनेसुत्र, बिराटनगर- असोज १३ गते अर्थात् बडादशैंको फूलपातिको दिनदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’ प्रचार प्रसारको व्यस्ततामा रहेको छ। सिनेमा प्रचार सामग्रीबाट प्राप्त प्रतिक्रियाले उत्साहित रहेको टिमले बिहिबार एक पत्रकार भेटघाट कार्यक्रम राखेको थियो। उक्त अवसरमा सिनेमा मुख्य कलाकार, निर्माता र निर्देशकको उपस्थिति रहेको थियो।

सिनेमाको ट्रेलरबाट नै अहिलेको जेन-जी पुस्ताको आन्दोलन र मागसँग मिल्ने केही झल्को प्रस्तुत गरिएको थियो। सोही कारण पनि पत्रकार भेटघाट कार्यक्रममा यस विषयमा चासोपूर्वक सोधिएको थियो। हरिवंश भन्छन् – “यो कथा करिब १ वर्षअगाडि तयार भएको हो। अहिलेको युवा पुस्ताले जे माग राखेर आवाज उठाउनु भयो, त्यही नै हाम्रो सिनेमाको कथा हो।” उनी अगाडी थप्छन्, “हाम्रो सिनेमा केही समयअगाडि नै तयार भएर सेन्सर पास भइसकेको छ। यदि हामीले यो सिनेमा दुई महिनापछि प्रदर्शन गर्ने भए दर्शकहरूले ‘जेन–जी’ पुस्ताले उठाएको विषयमा सिनेमा बनाएछन् भन्थे होला। तर असोज १३ गते प्रदर्शन हुने भएकाले उठाएको विषय हरेकको मनमा रहेछ भन्ने प्रमाणित हुने छ।” उनले सिनेमाको कन्टेन्ट र जेन-जी पुस्ताको आवाजको मिलन संयोग भएको बताए।

हरिवंशले सिनेमा पूर्ण रूपमा कमेडी मात्र नभएको पनि स्पष्ट पारे। “ट्रेलर रमाइलो ढंगबाट काटेका छौँ, तर सिनेमा पूर्ण कमेडी मात्र होइन। दर्शकले ट्रेलर हेरेपछि पनि केही गहन विषय उठेको महसुस गर्नेछन्।” जेन-जी आन्दोलनमा एउटा जुत्ता सांकेतिक प्रतीकको रूपमा रहेको थियो र सिनेमा पनि यसलाई सांकेतिक रूपमा प्रस्तुत गर्दछ। कलाकार आचार्यका अनुसार सिनेमा मात्र भ्रष्टाचारको विषयमा होइन, नेपोटिज्म अर्थात् नातावादको विषयलाई पनि शसक्त रूपमा चित्रण गरेको छ।दीपेन्द्र के खनालद्वारा निर्देशित यो सिनेमा मा हरिवंश आचार्य सहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो सिनेमा सरोज ओली र मोहितवंश आचार्य द्वारा निर्माण गरिएको हो।

कृष्ण बहादुर थापा ले छायांकन गरेका छन् भने सम्पादन नकुल खड्का ले गरेका छन्। सिनेमामा वसन्त सापकोटा, दीपक शर्मा, प्रकाश सपुत को सङ्गीत निर्देशन रहेको छ। 

सम्बन्धित समाचारसबै