३१औँ दिनमा टुङ्गियो रामकृष्ण ढकालको निर्माणमा बनेको ‘मालती मंगले’ को छायाङ्कन

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘मालती मंगले’ को छायाङ्कन सम्पन्न भएको छ। लगातार छायाङ्कनको क्रममा ३१औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिएको हो।

सिनेमाको छायाङ्कन सुरु हुनुअघि गत महिना काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको थियो। त्यति बेला निर्माता समेत रहेका लोकप्रिय गायक रामकृष्ण ढकालका अभिभावक गोपाल कर्माचार्यले पहिलो क्ल्याप दिएका थिए भने अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै छायाङ्कनको शुभारम्भ गरेका थिए।रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा बनेको यो सिनेमाका निर्माता रामकृष्ण ढकाल हुन् भने सह-निर्माता बाबु सुवेदी, रविन श्रेष्ठ, बेदना कर्माचार्य श्रेष्ठ र स्विकृति बस्नेत रहेका छन्। निर्माता ढकालले सिनेमालाई स्तरीय र समाजसँग जोडिने भावनात्मक कथा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले दर्शकलाई आत्मीयतासहितको पारिवारिक प्रेमकथा दिने बताए। सिनेमालाई प्रकु पाण्डेयले निर्देशन गरेका हुन्। कथा स्वयं पाण्डेयकै लेखन हो भने पटकथा तथा संवाद गुरागाईँले तयार गरेका छन्।यस सिनेमामा विजय बराल, वर्षा राउत, मेक्सम गौडेल मुख्य भूमिकामा छन् भने सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराईलगायत कलाकारहरूको पनि अभिनय रहनेछ।

सिनेमामा छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी, कस्ट्युम डिजाइनर रवि पोखरेल, कला निर्देशक मनोज बोगटी, प्रोडक्सन डिजाइनर रिजन परियार रहेका छन्। राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउदका गीतलाई हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरले सङ्गीतबद्ध गरेका छन्।

निर्माण टिमले अब छायाङ्कनपछि पोस्ट–प्रोडक्सनको कामलाई तीव्रता दिने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचारसबै